काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेनजी आन्दोलनमा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा प्रमुख गिरीले जेनजी प्रदर्शनपछि निम्तिएको अकल्पनीय घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । फेसबुकमा प्रमुख गिरीले आफ्नो नगरपालिका पनि प्रदर्शनबाट अछुतो रहन नसकेको भन्दै व्यक्तिका घर सम्पत्ति र सार्वजनिक क्षेत्रहरुमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले प्रदर्शनकारीले आफ्नो पुख्र्यौली तथा निजी घर समेत लुटपाट गरी आगजनी गर्दा पूर्णरुपमा क्षति भएको उल्लेख गर्नुभएको छ । प्रमुख गिरीले आफ्नो परिवारहरुको ५०औं वर्षको सम्झनाको रुपमा रहेको फोटो तथा भिडियो संकलन गरि राखिएको दुई थान हार्ड ड्राइभलगायतका अन्य सरसामान कसैले फेला पारेको छ भने उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ ।
साथै गिरीले चन्द्रागिरि नगर भित्रका निजी तथा सार्वजनिक सम्पत्तिहरुको सामान सुरक्षित राखिएको छ भने सम्बन्धित व्यक्ति, नगरपालिका वा प्रहरीलाई बुझाइदिन पनि अनुरोध गर्नुभएको छ ।
यसैगरी, नगरपालिकाको मुख्य भवनको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने नगरवासीहरुमा उहाँले आभार प्रकट गर्नुभएको छ । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नगरप्रमुख गिरीको पुख्र्यौली लगायत अन्य दुई वटा घरमा लुटपाट र आगजनी गरि ध्वस्त भएका छन् ।






