काठमाडौं । चन्द्रागिरि नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिताको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बेलुन उडाएर उद्घाटन गर्नुभएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४ स्थित फुटबल ग्राउण्डमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख गिरीले विभिन्न आरोह अवरोह पार गर्दै नगरपालिकाले छैटौं राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्न सफल भएको बताउनुभयो । उहाँले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी भविष्यमा राष्ट्रिय खेलाडी बन्न सक्ने बताउँदै नियमपूर्वक प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आग्रह गर्नुभयो । प्रमुख गिरीले उत्कृष्ट खेलाडीलाई नगरपालिकाले पनि विशेष व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले नैकाप फुटबल ग्राउण्डलाई गौरवको योजनामा राखि सुविधा सम्पन्न मैदान बनाउने पनि बताउनुभयो ।




नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले खेलकुदले शारीरिक र मानसिक तन्दुरुस्त राख्ने भएकाले आफ्नो क्षमतासहित प्रतियोगितामा सहभागि हुन आग्रह गर्नुभयो । उहाँले छैटौं राष्ट्रपति रनिङ सिल्डमा छात्राहरुको पनि सहभागिता बढेकोमा खुशी व्यक्त गर्नुभयो । साथै प्रतियोगिहरुलाई असफल भएपनि हौसला नगुमाउन आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रतियोगिता आयोजक समितिका सदस्य सचिव विष्णुप्रसाद पनेरु, प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले प्रतितियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थीले भाग लिएका छन् । प्रतियोगितामा नगरका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका १८ वर्षमुनिका १ हजार १ सय ४८ जना छात्र र ९ सय २४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी लगायत १७ वटा विधामा भाग लिएका छन् । प्रतियोगितामा ५४ स्वर्ण ५४ रजत र ८० कास्य पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत मार्सल आर्टस्का खेलहरू रिब्स माविमा हुनेछन् भने ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदान र हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । भलिबल खेल भने नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी खेल थानकोटस्थित मंगलोदय मा.वि. मा हुनेछ । उद्घाटन समारोह अघि सहभागि विद्यालयहरुले मार्च पास गरेका थिए भने एनसीसीका विद्यार्थीहरुले आफ्नो कला कौशल प्रस्तुत गरेका थिए ।

प्रतियोगिता मंसिर २४ गते समापन हुने आयोजक चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि प्रसाद भट्टले जानकारी दिनुभएको छ ।



