काठमाडौं । चन्द्रागिरि नगर अस्पताल, थानकोटमा भेन्टिलेटर सेवा सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उपलब्ध भेन्टिलेटर उपकरण एक विशेष समारोहबीच नगर प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्रीले अस्पतालको निरीक्षण गर्दै स्तरोन्नतिका विषयमा नगर प्रमुख र नगरपालिकाका अन्य पदाधिकारीसँग छलफल गर्नुभयो । नगर प्रमुख गिरीले यो अस्पतालले काठमाडौं उपत्यकाका प्रवेशद्वारमा २४ घण्टा आकस्मिक सेवा उपलब्ध गराउने भएकाले आसपासका पालिका र देशभरका नागरिकले समेत सेवा लिन सक्ने जानकारी गराउनुभयो ।



कार्यक्रममा नगर प्रमुखले थानकोट–चित्लाङ सडक खण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै अस्पतालको स्तरोन्नति र संचालनमा प्रदेश सरकारको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्रीले अस्पतालको स्तरोन्नति र सडक विकासमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै, अस्पताल परिसरमा निर्माणाधीन १५ शंैयाको अस्पताल र जर्मन सरकारको सहयोगमा बन्न लागेको परोपकार प्रसूति अस्पतालको प्रगतिमा चासो देखाउनुभयो ।
यस सेवा सुरु भएपछि चन्द्रागिरि नगर अस्पतालले स्थानीयबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थप प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।



