काठमाडौं । चन्द्रागिरि पत्रकार संघले आफ्ना सदस्य तथा पत्रकार अखबर श्रेष्ठलाई परेको पितृशोकप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।



संघका अध्यक्ष श्याम बलामीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल बिहीबार चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगलस्थित श्रेष्ठको निवासमा पुगेर दिवंगत आनन्दमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । सो अवसरमा उपस्थित पत्रकार तथा संघका पदाधिकारीहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धासुमन अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए । संघले दिवंगत आनन्दमान श्रेष्ठ एक सरल, मिलनसार तथा समाजप्रति सकारात्मक सोच राख्ने व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको निधनले परिवार मात्र होइन, स्थानीय समुदायसमेत शोकाकुल बनेको जनाएको छ । साथै, यस्तो कठिन परिस्थितिमा परिवारलाई धैर्य धारण गर्न र एकआपसमा सहारा बनेर अघि बढ्न आग्रह गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष बलामीले शोकको यस घडीमा आत्मबल मजबुत बनाउँदै पीडालाई शक्तिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले पत्रकार अखबर श्रेष्ठलाई हिम्मत नगुमाई पेशागत जिम्मेवारीमा निरन्तर लागिरहन पनि प्रेरित गरेका थिए ।
अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्ष विनोद लामिछाने, कोषाध्यक्ष गोपाल पाठक, सदस्यहरु नेशन श्रेष्ठ, सञ्जय श्रेष्ठ, ournewscrew.com का ज्ञानेन्द्र महतलगायतले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पितृशोकमा रहेका श्रेष्ठ परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।
स्वर्गीय आनन्दमान श्रेष्ठको ६२ वर्षको उमेरमा बैशाख १२ गते निधन भएको थियो ।



