काठमाडौं । प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेशन नेपाल (प्याब्सन) चन्द्रागिरिले एसइइ एक्सिलेन्स अबार्ड प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा प्याब्सन चन्द्रागिरिले संस्थामा आवद्ध विद्यालयबाट २०७९ सालको एसइइमा उत्कृट अंक ल्याउने ३७ जना छात्रछात्रा एवम् विद्यालयका शिक्षक, कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।




कार्यक्रमका विशिष्ट अतिथि काठमाडौं जिल्ला प्याब्सनका अध्यक्ष प्रेम राईले २०७९-०८० को एसइइ नतिजामा काठमाडौं जिल्लामा मात्र ३३ जनाले जिपिए हासिल गर्दा ३१ जना निजी विद्यालयको परेको उल्लेख गर्नुभयो । उहाँले हालै नेपाल सरकारले ल्याएको शिक्षा ऐनप्रति लक्षित गर्दै निजी विद्यालयले गरेको योगदानको सरकारले सम्मान गर्नु पर्नेमा उल्टै हतोत्साहि हुने गरी ऐन ल्याएको भन्दै दुःख व्यक्त गर्नुभयो । साथै उहाँले शिक्षा ऐनका लागि गठित उच्चस्तरीय वार्ता टोलीबाट सकारात्मक निकास आउने विश्वास व्यक्त गर्नुभयो ।

चन्द्रागिरि प्याब्सनका अध्यक्ष एव्म ए. आई स्कुलका सञ्चालक दिपक महर्जनले निजी विद्यालयलाई विश्वास गरेर आफ्ना बालबालिकालाई बोर्डिङ स्कुलसम्म पठाउन मद्दत गरेकोमा अभिभावकलाई धन्यवाद दिनुभयो । उहाँले कुनै पनि स्कुल सक्षम र उत्कृष्ट हुन कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले समाजमा अहिले पनि शिक्षकलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै शिक्षक नै देशको प्रमुख चालक भएको दाबी गर्नुभयो । उहाँले जति पनि नेता, डाक्टर, इञ्जिनियर, पाइलट सबै क्षेत्रमा यदि शिक्षक नहुने हो भने सम्भव नहुने उल्लेख गर्नुभयो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले घोकन्ते विद्या र शैक्षिक प्रमाण पत्रले मात्र मानव जीवनशैली परिवर्तन हुन नसक्ने बताउनु भयो । उहाँले अबको शिक्षा व्यवहारिक शिक्षामा आधारित हुनु पर्नेमा जोड दिनुभयो । उहाँले छात्र र छात्राकै कारण विद्यालय र नगरको मूल्यांकन भइरहेको भन्दै सक्षम र उत्कृष्ट विद्यार्थी उत्पादनमा सहयोग गरेप्रति निजी विद्यालयलाई धन्यवाद दिनुभयो । प्रमुख गिरीले दक्ष र सक्षम विद्यार्थी कक्षा १२ पढेपछि विदेश जाने परिपाटी बनेकोले त्यसलाई बेलैमा रोक्न नसके देश गम्भीर अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका शिक्षा शाखाका प्रमुख कर्णबहादुर भुवाजीले शिक्षा मानव जीवनको ऐना भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा अरुको कर, बल र देखासिकीले नहुने हुँदा पहिलो आफुले आफैलाई चिनि आफ्नो उद्देश्य तय गरी अघि बढ्न सुझाव दिनुभयो । उहाँले शिक्षा भनेको त्यस्तो शक्ति हो जसले मानव जीवनको आन्तरिक प्रतिभाको विकास गरी जीवन सफल बनाउने प्रमुख माध्यम भएको दाबी गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, निजी विद्यालयका संचालक तथा शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षासंघ जोडिएका विभिन्न संघसस्था, समाजसेवीलगायतको उपस्थिति थियो ।








