संघीय सांसद राजेन्द्र कुमार केसीको नेतृत्वमा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दिपक खड्कासँग भेटवार्ता गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको उक्त भेटमा चन्द्रागिरि नगरपालिकामा गत साता भएको विद्युतीय दुर्घटनाका सम्बन्धमा मन्त्री खड्काको गम्भीर ध्यानाकर्षण गराइएको छ।
भेटका क्रममा, चन्द्रागिरि नगरपालिकाका तर्फबाट नेपाल विद्युत प्राधिकरणले दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। साथै, आगामी दिनमा यस्ता विद्युतीय दुर्घटनाहरू न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रीसमक्ष अनुरोध गरिएको छ।
मन्त्री खड्काले चन्द्रागिरिमा भएको विद्युतीय दुर्घटनाका पीडित परिवारलाई प्राधिकरणका तर्फबाट यथासम्भव राहत उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
मन्त्रीसँगको भेटमा चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।






