काठमाडौं । चन्द्रागिरि नगरपालिकामा दाफा भजन संरक्षणलाई जोड दिइएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१० मा नेवारी समुदायले गाउँदै आएको भजन दाफा भजन करिब ४० वर्षपछि संरक्षणलाई जोड दिइएको हो ।




चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिव कुमार महर्जनले परापूर्वकालदेखि नेवारी समुदायको पहिचानको रुपमा रहेको दाफा भजन लोप हुने अवस्थामा पुगेपछि संरक्षणको लागि नयाँ पुस्ता ४० जनालाई दुई महिना देखि दाफा भजन सिकाइएको बताउनु भयो । उहाँले ४० वर्ष पहिले दाफा भजन बोसीगाउँको डवलीमा (नेवार समुदाय बस्तिको बीचभागमा) यही ठाउँमा हुने गरेको र अहिले पनि त्यही ठाउँमा नै दाफा भजन सिकाएर सस्कृति जर्गेनालाई प्राथमितामा राखेको बताउनु भयो । उहाँले दुई महिनादेखि दाफा भजन सिकेका प्रशिक्षार्थीहरुले नासः लाई साक्षी राख्दै कला, संस्कृति र नेवार समुदायको पहिचानलाई अघि बढाउन सहयोग गर्ने भनि बाचाबन्धनमा बाँधिएको पनि बताउनु भयो ।

अध्यक्ष महर्जनले अग्रजहरुले बाजागाजा संरक्षण गर्दै आउँदा र अहिलेको परिस्थिति धेरै फरक भएकोले परम्पराहरु विस्तारै लोप हुँदै गएको बताउनु भयो । उहाँले पहिले थोरै मान्छे, थोरै समुदाय हुँदा थोरै खर्चमा सबै गर्न सकिने अहिले कुनै पनि संस्कृति जोगाउन बढी खर्च हुँदा खर्च धान्न नसक्दा परम्परा र सस्कृति लोप हुने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले पहिले खेतबारी पनि प्रशस्त हुँदा अन्नपातमा खर्च नहुने अहिले अधिकांश व्यक्तिको जग्गा जमीन नहुँदा सबै किन्नुपर्ने अवस्था भएकोले महंगीकै कारण घरव्यवहार पनि धान्न नसक्ने अवस्थामा पुगेकोले नेवार समुदायले मान्दै र धान्दै आएका अधिकांश पर्वहरु अहिले लोपहुने अवस्थामा पुगेको बताउनु भयो ।

उहाँले लामो समयदेखि बन्द रहेको र युवा पुस्ताले विर्सन लागेको दाफा भजन पुराना पुस्ताले नयाँ पुस्तालाई नसिकाए पूर्णरुपमा भजन लोप हुने देखेपछि संरक्षणका लागि पहल गरिएको बताउनु भयो । अध्यक्ष महर्जनले संस्कृतिलाई संरक्षण गर्नु आफ्नो पहिलो दायित्व भएकोले वडा, नगर, विभिन्न संघसस्थालगायतसँग आर्थिक जोहो गरेरै भएपनि आर्थिक अभावकै कारण सस्कृतिलाई लोप हुन नदिने बताउनु भयो ।




