काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले वडाअध्यक्ष महर्जनलाई आइतबार पक्राउ गरेको हो ।
महर्जनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । वडा अध्यक्ष महर्जन कोषाध्यक्ष भएको हरियाली बचत तथा ऋण सहकारी जुन ठमेलमा छ उक्त सहकारीले झण्डै २७ करोड रुपैयाँ उहाँ लगायत सहकारी संचालकले ठगी गरेको भन्दै सहकारीविरुद्ध बचतकर्ताले प्रहरीमा जाहेरी दिए । जाहेरी परेसँगै प्रहरी वृत्त सोह्रखुट्टेले सहकारी संचालकहरुको खोजी गर्दै आएको थियो । प्रहरीले सहकारीका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष सुरेश, सचिव दीपेश, कोषाध्यक्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन, सरोज, दिलबहादुरलगायतका व्यक्तिलाई प्रहरीले खोजिको सूचिमा राखेको थियो । ६ सय बचतकर्ताले बचत गरेको २६ करोड ८२ लाख २४ हजार ६ सय ७७ रुपैयाँ आ.ब. ०७८–०७९ को सहकारीको २२औं वार्षिक साधारणसभाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।



२०८० चैत महिना देखि सहकारी बन्द भएपछि बचतकर्ता आफुहरु ठगिएको भन्दै उहाँहरुमाथी प्रहरीमा उजुरी दिएका थिए । प्रहरीको अनुसन्धानको क्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन पनि सहकारी ठगीमा संलग्नता देखिएका थिए । अध्यक्ष महर्जनले नै भनेर चन्द्रागिरिका केही व्यक्तिले ठमेलको उक्त सहकारीमा पैसा लगेर राखेको समेत पाइएको छ । ती व्यक्तिहरुले सहकारीले राम्रो व्याज दिएको र त्यही ब्याजको लोभमा आफन्तहरुलाई पनि सहकारीमा पैसा राख्न लगाएका थिए । सहकारीले केही वर्षदेखि बचतकर्ताले जम्मा गरेको रकम फिर्ता दिन सकेको थिएन । बचतकर्ताको रकम सहकारीका संचालकले नै चलाए, कतै जग्गा किने, कतै घर बनाए, कोहीले गाडी चढे, बचतकर्ताको पैसामा संचालकहरुले मोजमस्ति गरे । जब देशका ठूलाठालु भनिने व्यक्तिले चलाएका सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको भन्ने खबर दिनप्रतिदिन संचारमाध्यममा आउन थाले । बचतकर्ताले सहकारीमा आफुले बचत गरेको रकम असुरक्षित रहेको ठान्न थाले । आफुले बचत गरेको पैसा सहकारीमा लिन जाँदा पैसा नपाएपछि अन्य सहकारीझै हरियाली बचत तथा ऋण सहकारीको पनि बास्तविकता बाहिरियो ।
आफुहरुको कर्तुत एकाएक बाहिरिएपछि संचालकहरुमा भागदौड मच्चियो । वडा अध्यक्ष महर्जन वडाको जिम्मेवारी अर्कैलाई दिएर एकाएक सम्पर्कविहीन हुन पुगे । चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन अदालतबाट पक्राउ पुर्जी आएपछि फरार भएका थिए । उहाँलाई बबरमहलबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



