काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थानीय बालमैत्री वडा घोषणा हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको १५ वटा वडा मध्ये १४ नम्बर वडा पहिलो बालमैत्री वडा हुने भएको हो ।



आगामी मंसिर ६ गते शनिबार बागमती प्रदेशको समाजिक विकास मन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा बालमैत्री वडा घोषणा गर्न लागिएको हो । बालमैत्री वडा घोषणा गर्नुअघि विहान वडा कार्यालयबाट र्याली निकालिने छ । वडा कार्यालयबाट निकालिएको र्याली वडाका विभिन्न स्थानमा पुग्ने र मंगल माविबाट वडालाई नगरकै पहिलो स्थानीय बालमैत्री वडा घोषणा गरिने छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजभाई महर्जनले वडालाई स्थानीय बालमैत्री वडा घोषणा गर्नुअघि नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेको बताउनु भयो । उहाँले तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख भएअनुसार वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको दाबी गर्नुभयो । उहाँले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको समेत जानकारी दिनुभयो ।
बालमैत्री वडा घोषणा गर्नको लागि नगरले बनाएको चेकलिस्टअन्तरगत शिक्षा क्षेत्रमा ५१ सूचक र स्वास्थ्यमा १४ वटा सूचक पार गर्नुपर्ने हुन्छ । बालमैत्री वडा हुनको लागि सतप्रतिशत जन्मदर्ता, खोप, विद्यालय भर्ना, बालविवाह, गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मी, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको, एक वर्षभित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, बालविवाह मुक्त क्षेत्र, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने, दुव्र्यवहारमा कमीलगायतको ५१ सूचक पार गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।
यी सम्पूर्ण सूचक पारगरेपछि वडालाई बालमैत्री वडा घोषणा गर्न सकिन्छ । चन्द्रागिरि नगरपालिका १४ नम्बर वडा बालमैत्री वडा भएसँगै बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा हुनेछ । स्थानीय बालमैत्री वडा घोषणा गरिएसँगै चन्द्रागिरि नगरपालिकाको नै पहिलो र काठमाडौंको दोस्रो स्थानीय बालमैत्री वडा १४ नम्बर हुनेछ । यसअघि कीर्तिपुर नगरपालिकाको ७ नम्बर वडा बालमैत्री वडा घोषणा भईसकेको छ ।



