काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ तीनथानास्थित एक घरमा चोरी भएको छ । प्रहरी वृत्त थानकोटले बुधबार बेलुका यादव प्रसाद पन्थीको घरबाट चोरी भएको जनाएको हो ।



न्थीको घरमा कोही नभएको अवस्थामा घरको मुल ढोकाको ताल्चा फोडी २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले पन्थीको घरबाट सुनको सिक्री ३ तोलाको ४ वटा, सुनको औंठी २ तोलाको ५ वटा, सुनको छड्के तिलहरी १ तोलाको १ वटा, सुनको ९ गेडी १ तोलाको १ वटा, सुनको मंगलसुत्र ३ तोलाको २ वटा, सुनको चन्द्रमा १ वटा, सुनको बाला १ तोलाको १ वटा, मोवाइल २ वटा चोरी भएको जनाएको छ ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक एलिजा गिरीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देशैभरका प्रहरी चौकी र कारागारबाट कैदी बन्दी, लुटेरा, विभिन्न अपराधमा संलग्न व्यक्तिहरु भागेको र उनीहरु अझै फरार रहेकोले समाजमा हत्या, हिंसा, चोरी, लुटपाटका घटना हुन सक्ने भएकोले सबैलाई सजग हुन आग्रह गर्नुभयो । उहाँले आफ्नो घर वरपर कुनै अपरिचित व्यक्ति वा शंकास्पद व्यक्ति आएमा चनाखो भई बस्न र प्रहरीलाई खबर गरी समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि सहयोग पुर्याउन पनि आग्रह गर्नुभयो ।
प्रहरीले चोरीका घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको र जतिसक्दो चाँडो ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउने बताएको छ ।



