काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ ले वडाका होमस्टे संचालकलाई सम्मानसहित सहयोग गरेको छ । गत आ.व. २०८१÷०८२ मा पिछडिएको समुदायलाई स्वरोजगार सिर्जनाको लागि होमस्टे संचालन कार्यक्रम अन्तरगत विनियोजित ५० लाख रुपैयाँ बजेट मध्येबाट वडामा होमस्टे संचालकलाई १० लाख रुपैयाँको सहयोग गरेको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले देशमा बढ्दै गएको बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न र आर्थिकोपार्जनमा होमस्टे संचालनले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले वडामा होमस्टे संचालन गरेर स्थानीय पर्यटन प्रवर्दनदेखि संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्नमा सहयोग पुर्याएका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको पनि बताउनु भयो ।




चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले दहचोक पर्यटकीय एक सय गन्तब्य मध्ये एउटा भएको भन्दै चन्द्रागिरिको पहिचान देशैभर दहचोकले बनाउन सफल भएको बताउनु भयो । उहाँले पछिल्लो समय दहचोक आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलको हब बन्दै गएको भन्दै यहाँ संचालनमा रहेका होमस्टेले अझ थप पर्यटकलाई आकर्षण गरेको उल्लेख गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश्याम रानामगरले वडामा होमस्टे संचालन गरेर स्वरोजगार बनेका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले वडा भित्र संचालनमा रहेका १३ वटा होमस्टे संचालकको मनोबल बढाउने उद्देश्यले उहाँहरुलाई बेड तथा मेट्रिक्स सहयोग गरिएको उल्लेख गर्नुभयो । वडा अध्यक्ष रानामगरले यो आर्थिक वर्षमा पनि यस्ता योजना वडाले राख्ने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनप्रतिधि, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।



