काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, वाडभञ्ज्याङको रमणीय तथा धार्मिक महत्व बोकेको घट्टेडाँडास्थित राधाकृष्ण मन्दिरको अक्षयकोष निर्माण गर्ने उद्देश्यले ‘पुरुषोत्तम माहात्म्य ज्ञान महायज्ञ एवं चन्द्रागिरि धार्मिक महामहोत्सव–२०८३’ आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको उक्त महायज्ञ जेठ २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।



आयोजक पुरुषोत्तम माहात्म्य ज्ञान महायज्ञ एवं चन्द्रागिरि धार्मिक महामहोत्सव मूल समारोह समितिले महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । समितिका अनुसार मन्दिरको दीर्घकालीन संरक्षण, नियमित पूजा–आराधनाको व्यवस्थापन तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको हो ।
महायज्ञमा प्रख्यात कथा वाचक पण्डित विजय सिग्देलको मुखारविन्दबाट संगीतमय शैलीमा पुरुषोत्तम माहात्म्य कथा वाचन गरिनेछ । धार्मिक ग्रन्थमा आधारित कथा, आध्यात्मिक प्रवचन तथा जीवनोपयोगी सन्देशले श्रद्धालुहरूलाई धर्म, संस्कार र नैतिक जीवनतर्फ प्रेरित गर्ने विश्वास आयोजकको छ ।
महामहोत्सवअन्तर्गत दैनिक रूपमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन् । कथावाचनसँगै भजन–कीर्तन, देवलिला झाँकी, तुलादान, शान्ति कलश पूजा, विशेष आरती तथा धार्मिक प्रवचनका कार्यक्रम रहनेछन् । यस अवधिमा स्थानीय कलाकार तथा भजन समूहहरूको समेत सहभागिता रहने जनाइएको छ ।
महायज्ञको उद्घाटन अघि जेठ २३ गते बिहान भव्य शोभा कलश यात्रा आयोजना गरिनेछ । स्थानीय बासिन्दा, विभिन्न संघसंस्था, आमा समूह, युवा क्लब तथा भक्तजनहरूको सहभागितामा निकालिने कलश यात्राले धार्मिक वातावरणलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ । सोही दिन बिहान ११ बजे विशेष समारोहबीच महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
महायज्ञ अवधिभर हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म विशेष पूजा, अर्चना, हवन तथा पाठ–पारायण सञ्चालन गरिनेछ । वैदिक विधिअनुसार हुने यस्ता धार्मिक अनुष्ठानले क्षेत्रको आध्यात्मिक वातावरणलाई थप सुदृढ बनाउने आयोजकको विश्वास छ । साथै व्यक्तिगत तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित पूजा–आराधनामा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।



