काठमाडौं – चन्द्रागिरि नगरपालिका–३ थानकोट इमालेखस्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको पौराणिक ढुङ्गेधाराको पुनःनिर्माण तथा सौन्दर्यीकरण सम्पन्न भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको उक्त ढुङ्गेधाराको संरक्षण गर्दै पुनः सञ्चालनमा ल्याउने उद्देश्यले गरिएको पुनःनिर्माण कार्य सम्पन्न भएपछि शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
पुनःनिर्मित ढुङ्गेधाराको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थितिमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख गिरीले नगरभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता संरचनाको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए।



वडा नं. ३ का अध्यक्ष दुर्गालाल महर्जनका अनुसार उक्त ढुङ्गेधाराको पुनःनिर्माण तथा सौन्दर्यीकरण चन्द्रागिरि नगरपालिकाको आर्थिक पूर्वाधार योजनाअन्तर्गत गरिएको हो। उनले परम्परागत जलस्रोत र सम्पदाको संरक्षणसँगै भावी पुस्तालाई ऐतिहासिक धरोहर हस्तान्तरण गर्ने उद्देश्यले योजना कार्यान्वयन गरिएको जानकारी दिए। धारा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर महर्जनका अनुसार निर्माण कार्यका लागि चन्द्रागिरि नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। नगरपालिकाको बजेटसँगै स्थानीयवासीहरूले पनि आर्थिक तथा श्रमदानमार्फत सक्रिय सहयोग गरेका कारण निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएको उनले बताए।
उनका अनुसार पुनःनिर्माण तथा सौन्दर्यीकरणका लागि कुल ४ लाख १० हजार १३५ रुपैयाँ खर्च भएको छ। त्यसमध्ये नगरपालिकाबाट ३ लाख रुपैयाँ उपलब्ध गराइएको थियो भने स्थानीयवासीहरूबाट १ लाख १० हजार १३५ रुपैयाँ बराबरको नगद तथा जनसहभागिता जुटाइएको हो। स्थानीयवासीहरूले पुनःनिर्माणपछि ढुङ्गेधाराले आफ्नो पुरानो स्वरूप पुनः प्राप्त गरेको बताएका छन्। उनीहरूले ऐतिहासिक तथा धार्मिक महत्वका यस्ता सार्वजनिक सम्पदाको संरक्षणमा स्थानीय तहले निरन्तर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
महालक्ष्मी मन्दिर परिसरमा रहेको उक्त ढुङ्गेधारा स्थानीय समुदायका लागि परम्परागत पानीको स्रोतका साथै धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको सम्पदा मानिन्छ। पुनःनिर्माणसँगै यसको संरचनात्मक मजबुती, सौन्दर्य तथा उपयोगिता बढेको स्थानीयहरूको विश्वास छ।



