काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सुरु गरिएको छ । बालबालिकाको पोषण अवस्था पहिचान गरी समयमै आवश्यक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले बालबालिकाको तौल, उचाइ, शारीरिक अवस्था तथा पोषण सम्बन्धी विवरण संकलन गरिएको छ । साथै अभिभावकलाई बालबालिकाको उचित स्याहार, सन्तुलित आहार र सरसफाइका विषयमा समेत जानकारी दिईएको छ ।

कार्यक्रममा स्थानीय अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । बिहानैदेखि आमा तथा अभिभावकहरू आफ्ना साना बालबालिका लिएर कार्यक्रममा सहभागी भएका थिए । कतिपय बालबालिकाको स्वास्थ्य परीक्षणसँगै पोषण अवस्था मूल्यांकन गरिएको थियो भने आवश्यक देखिएका बालबालिकालाई थप निगरानीमा राखिएको छ ।

नेपालमा अझै पनि बालबालिकामा कुपोषण, कम तौल तथा वृद्धि विकासमा समस्या देखिने भएकाले यस्ता कार्यक्रम प्रभावकारी मानिन्छन् । विशेषगरी बाल्यकालको प्रारम्भिक चरणमै पोषण अवस्थाको पहिचान गर्न सकिए भविष्यमा हुनसक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न सहज हुनेछ ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले बालबालिकालाई नियमित रूपमा पोषणयुक्त खाना खुवाउन, स्तनपानलाई प्राथमिकता दिन तथा सरसफाइमा विशेष ध्यान दिन अभिभावकलाई आग्रह गरेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा सुरु गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमले बालबालिकाको स्वास्थ्य अवस्थाबारे वास्तविक तथ्यांक संकलन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै यसबाट कुपोषण न्यूनीकरण तथा स्वस्थ बालबालिका निर्माण अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय