चन्द्रागिरि नगरपालिका–५, महादेवस्थान किसिपिडीमा निर्माण हुने वडा कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ। नगरप्रमुख घनश्याम गिरीले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन्। १ करोड ४६ लाख ४ सय ३ रुपैयाँ ४७ पैसा लागतमा निर्माण हुने भवन साढे दुई तल्लाको हुनेछ। परम्परागत नेवारी वास्तुशैलीमा निर्माण गरिने भवनमा कार्यालय सञ्चालनका लागि आवश्यक आधुनिक प्रविधि तथा सुविधासमेत समेटिने जनाइएको छ।
निर्माण सम्झौताअनुसार भवन २०८४ जेठ २८ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। नयाँ भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक तथा स्थानीय सेवाहरू थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। वडा नम्बर ५ ले विगत नौ वर्षदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ। आफ्नै भवन निर्माण भएपछि सेवाग्राहीलाई सहज र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।






