काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ ले वातावरणलाई मध्येनजर गर्दै वडालाई प्लाष्टिक मुक्त वडा बनाउने पहल गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनले बढ्दै गएको प्लाष्टिक प्रयोगले वडा र नगरको शौन्दर्यतामाथि नै प्रश्न चिन्ह खडा हुन थालेपछि प्लाष्टिक न्यूनिकरणको लागि आफुले पहल कदमी बढाएको बताउनु भयो ।




अध्यक्ष महर्जनले वडा भित्र विभिन्न व्यवसायमा संलग्न व्यवसायीलाई प्लाष्टिकको प्रयोगले वातावरणमा पारेको असर, मानव स्वास्थ्यमा प्रत्यक्षरुपमा पारेको क्षति, प्लाष्टिकले सहरी शौन्दर्यतामा पारेको कुरुपतालगायतको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको जानकारी दिनुभयो । अध्यक्ष महर्जनले चन्द्रागिरि नगरपालिकाको १५ वटा वडा मध्ये वडा ५ पहिलो प्लाष्टिक मुक्त वडा हुने दाबी गनुभयो । उहाँले व्यवसायीलाई वातावरणको ख्याल राखेर प्लाष्टिक प्रयोग नगरी इजी ब्याग प्रयोग गर्न सल्लाह दिंदै लाग्ने खर्चको आदि वडाले व्यहोर्ने समेत आश्वासन दिनुभयो । उहाँले इजी ब्याग खरिद गर्दा केही महंगो भएपनि वातावरण प्रदुषणबाट हुने खर्चको कसैले पनि अनुमान लगाउन नसक्ने भएकोले अहिले नै सबै सचेत र सजग हुन आवश्यक रहेको बताउनु भयो ।

प्लाष्टिक हटाउ अभियानका अभियन्ता प्रशन्नमान गोपाली र प्रकाश गोपालीले अहिले प्रयोग भइरहेको प्लाष्टिकको विकल्पको रुपमा बजारमा इजी ब्याग भएको बताउनु भयो । उहाँहरुले आफुहरु अहिले देशैभर प्लाष्टिक हटाउ अभियानमा लागि परेको र अहिले देशका केही स्थानीय निकायमा सुरु पनि भइसकेको बताउनु भयो । गोपालीले चन्द्रागिरि नगरपालिकालाई पनि छिट्टै प्लाष्टिक मुक्त नगरपालिका बनाउनको लागि आफुहरुले नगरप्रमुख घनश्याम गिरी र नगरपालिकाको वातावरण शाखासँग छलफल बढाइसकेको भन्दै पहिलो चरणमा वडा नम्बर ५ बाट प्लाष्टिक मुक्त वडा बनाउने पहल भएकोमा प्रशंसा गर्नुभयो । उहाँले इजी ब्याग प्लाष्टिक जस्तो देखिए पनि प्लाष्टिक नभएको, प्लाष्टिकलाई बाल्दा खरानी नहुने, नकुहिने तर, इजी ब्याग बाल्दा खरानी हुने र कुहिएर माटोमा मिल्ने हुँदा वातावरण एक सय प्रतिशत नै सुरक्षित रहेकोले व्यवसायीलाई इजी ब्याग नै प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कपडा व्यवसायी, मासु व्यवसायी, खाद्यन्न व्यवसायी, औषधि व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।



