काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ मा रहेको हाईभिजन महिला समूहले दुना टपरी बनाउने सीपमुलक तालिम सुरुवात गरेका छन् । चन्द्रागिरि नगरपालिकाका उपप्रमख बसन्ती श्रेष्ठले हाईभिजन महिला समूहलाई दुना टपरी बनाउने मेसिन हस्तान्तरण गर्दै नगरका १५ वटै वडाहरुमा महिला दिदीबहिनीहरुलाई नगरपालिकाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै सामग्री हस्तान्तरण गर्दै आएको बताउनु भयो । उहाँले दुना टपरी बनाएर मात्र नहुने बजार पनि व्यवस्था गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।



उपप्रमुख श्रेष्ठले यहाँ उत्पादन भएका सामग्री बजार बजार पु¥याउन भौतारिनु भन्दा व्यापक रुपमा प्रचारप्रशार गरी व्यापारी र सम्बन्धीत व्यक्ति यही आउने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले कुनै पनि उत्पादनका लागि आफूले पनि लगानी गरे त्यसको माया हुने भएकाले सहलगानीका लागि नगरपालिका हरदम तयार रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले विभिन्न समयमा महिलाहरुका लागि भन्दै विशेष किसिमको प्याकेजको व्यवस्था गर्दै आएकोले नगरको वेभसाइटहरु समय समयमा हेर्न पनि आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ७ का कार्यबाहक वडाअध्यक्ष उमा कुमारी थापाले महिला दिदीबहिनीहरु शीपमूलक तालिममा जोडिँदा जतिसुकै धनाढ्य भएपनि आफू स्वावलम्बन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफु पनि हाईभिजनबासी नै भएकोले टाढाको भन्दा नजिककै प्यारो भएको भन्दै महिलाको लागि वडाले छुट्याएको १ लाखको बजेट यही समाजलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडाबासीको आर्थिकोपार्जनका लागि वडा र नगरबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
यस्तै, हाइभिजन कोलोनी समाजका अध्यक्ष तारा बहादुर केसीले तालिम सञ्चालन र तालिम लिन रमाइलो हुने तर यसको निरन्तरतामा ध्यान दिन महिला समूहलाई सुझाव दिनुभयो । उहाँले दुना टपरीका लागि आवश्यक कच्चापदार्थ संकलनका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
चन्द्रागिरि नगरपालिका बलम्बुको सहयोग र हाईभिजन महिला समूहले आयोजना भएको पाँच दिने तालिममा ६० जना महिला दिदी बहिनी सहभागि छन् । तालिमको प्रशिक्षकमा जुना राना रहेका छन् ।
कार्यक्रममा हाइभिजन कोलोनी समाजका निवर्तमान अध्यक्ष सूर्य बहादुर कुँवर, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।



