काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ ले ५९औं राष्ट्रिय बाल दिवस २०८० मनाएको छ ।

‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको लगानी’ भन्ने मुल नाराका साथ चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ ले प्रभातफेरीको आयोजना गरेको हो । दिवसको अवसरमा वडा अध्यक्ष राजेन्द्र महर्जनले संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको र संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको बताउनु भयो । उहाँले बालबालिकाको हक अधिकारको लागि वडा सधै तत्पर रहेको र वडामा बालश्रम मुक्त गराउन वडाले विभिन्न कार्यक्रमलाई अघि बढाउने तयारी गरेको र त्यसको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ । उहाँले बालबालिकालाई उनीहरुको हक, अधिकारको विषयमा जानकारी गराउन वडाका शैक्षिक संस्थाहरुमा बाल क्लव गठन गरी बालश्रम मुक्त वडा बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।




प्रभातफेरीमा सहभागीहरुले बालश्रम अन्त्य गरौं, सेभ द चिल्ड्रेन, विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिबद्धता, बालबालिकालाई खुलेर बाँच्न देऊ लगायतका विभिन्न सचेतनामुलक प्लेकार्ड बोकेका थिए । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शिक्षक, शिक्षिका, बुद्धिजिवि, स्थानीय, सुरक्षाकर्मी, जनकल्याण माध्यमिक विद्यालय र सनसाईन इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीलगायतको सहभागिता रहेको थियो । वडा कार्यालयबाट सुरुभएको प्रभातफेरीले वडाका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो ।






