काठमाडौं । स्थानीय तहमा भएका उद्यमी ब्यवसायीलाई हौसला प्रदान गर्ने उद्देश्यले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा दुई दिने हाट बजार संचालनमा आएको छ । हाट बजारले थोरै लगानीमा संचालन गरिएका उद्योग र यहाँ पनि अवसर छ भन्ने स्थापित गर्ने जनप्रतिनिधिको विश्वास छ । हाटले स्थानीय उत्पादनको बजारीकरण र उत्पादनलाई प्रोत्साहन गर्ने चन्द्रागिरि नगरपालिका–६ ले जनाएको छ ।



हाट बजार सञ्चालन भएपछि स्थानीय रूपमा उद्योग संचालन गरिरहेका ब्यवसायी उत्साहित भएका छन् । उत्पादन सिधै उत्पादकबाट उपभोक्तामा पुग्ने भएकाले दुबैलाई लाभ समेत पुग्नेछ । हाट बजारमा अचार, मस्यौरा, वन तरूल, ढाकाको ब्याग, पच्छौरीलगायतका घरेलु उत्पादनका विभिन्न बिक्री कक्ष छन् ।
गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी र मौलिक सीपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायीले उत्पादन गरेको बस्तुहरु प्रदर्शन तथा बिक्री बितरणका लागि राखिएको छ ।
वडा नम्बर ६ का अध्यक्ष सञ्जय सिग्देलले हाटबजार सफल बनाउन सम्पूर्ण नगर तथा वडावासीलाई आह्वान समेत गर्नुभएको छ । अध्यक्ष सिग्देलले अब प्रत्येक महिनाको दुई दिन हाट बजार सञ्चालन हुने समेत जानकारी दिनुभयो ।



