काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.–६ ले बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आगामी २०८३ साउन ४ गते सोमबार शिविर सञ्चालन गरिने भएको हो ।
वडा अध्यक्ष सञ्जय सिग्देलले वडावासीका लागि एकदिने बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । यहाँका अनुसार शिविर बिहान ९ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म वडा नं. ६ कार्यालयको सभाहलमा सञ्चालन हुनेछ ।



शिविरमा सहभागी हुने सेवाग्राहीहरूले आँखाको पूर्ण परीक्षण, दृष्टि जाँच, निःशुल्क आँखा परामर्श, नजिक पढ्ने चस्मा निःशुल्क वितरण तथा आवश्यकता अनुसार निःशुल्क औषधि प्राप्त गर्न सकिने वडा अध्यक्ष सिग्देलले बताउनुभयो । साथै, मोतिबिन्दु र मासु पलाएको (प्टेरिजियम) समस्याका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत गरिने सिग्देलले जानकारी दिनुभयो ।
वडा अध्यक्ष सञ्जय सिग्देलले वडा बासिन्दालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको भन्दै सबै सम्बन्धितलाई अवसरको सदुपयोग गर्न आग्रह समेत गर्नुभएको । विशेषगरी आँखासम्बन्धी समस्या भएका ज्येष्ठ नागरिक तथा अन्य सर्वसाधारणलाई शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा लिन पनि उहाँले आग्रह गर्नुभएको छ ।



