काठमाडौं । चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप कार्यक्रम गरेको छ । सामुदायिक कुकुरहरूको संख्या व्यवस्थापन गर्दै पशु तथा मानव स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निशुल्क रूपमा सञ्चालन गरिएको हो ।
नगरपालिकाले पछिल्लो समय सामुदायिक कुकुरहरूको बढ्दो संख्या, त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य तथा सामाजिक समस्यालाई मध्यनजर गर्दै बन्ध्याकरण तथा खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । सोही अभियानअन्तर्गत वडा नं. ६ मा सञ्चालन गरिएको कार्यक्रममा सामुदायिक कुकुरहरूको बन्ध्याकरण, रेबिजविरुद्ध खोप, स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा दिइएको हो ।
कार्यक्रममा पशु चिकित्सक तथा प्राविधिकहरूको टोलीले सामुदायिक कुकुरहरूको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक उपचारसमेत गरेको थियो । बन्ध्याकरण गरिएका कुकुरहरूलाई शल्यक्रियापछि आवश्यक हेरचाह तथा औषधोपचारको व्यवस्था गरिएको पशु सेवा शाखाले जनाएको छ । शाखाका अनुसार सामुदायिक कुकुरहरूको अनियन्त्रित प्रजननका कारण विभिन्न क्षेत्रमा कुकुरको संख्या बढ्दै जाने, दुर्घटना तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्या सिर्जना हुने भएकाले बन्ध्याकरण कार्यक्रमलाई दीर्घकालीन समाधानका रूपमा अघि बढाइएको हो । साथै, रेबिज रोग अझै पनि जनस्वास्थ्यको चुनौतीका रूपमा रहेकाले सामुदायिक कुकुरहरूलाई नियमित रूपमा खोप लगाउने कार्यलाई समेत प्राथमिकता दिइएको बताइएको छ ।



चन्द्रागिरि नगरपालिकाले पशु कल्याण तथा जनस्वास्थ्य संरक्षणलाई सँगसँगै अगाडि बढाउने नीति अनुरूप आगामी दिनमा पनि अन्य वडाहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सञ्जय सिग्देलले कार्यक्रमको स्वागत गर्दै सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण, रेबिज रोग न्यूनीकरण तथा सुरक्षित वातावरण निर्माणका लागि यस्ता अभियान नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले नगरपालिकाले पशु कल्याण र जनस्वास्थ्यलाई जोडेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिएका छन् ।
अभियानले सामुदायिक कुकुरहरूको व्यवस्थापन, पशु स्वास्थ्य सुधार तथा रेबिजमुक्त समाज निर्माणको लक्ष्य हासिल गर्न महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष सिग्देलको विश्वास छ ।



