काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले साताव्यापी बजार अनुगमन गरेको छ । गत जेठ ८ गतेदेखि सुरु गरेको बजार अनुगमनको तेस्रो दिन आज दाउरा डिपो देखि राधाकृष्ण मन्दिरसम्मका पसलहरुमा अनगुमन गरिएको थियो ।

वडा अध्यक्ष संजय सिग्देलले सात दिनसम्म गरिने अनुगमनमा वडा भित्र संचालनमा रहेका सम्पूर्ण व्यवसायहरुको अनुगमन गरी त्यसको तथ्यांक निकालेर वडा मातहतमा ल्याउन खोजिएको बताउनु भयो । उहाँले केही दिन अघि सतुंगलको राधेराधे कम्प्लेक्समा भएको आगलागीमा अधिकांश व्यवसायीले व्यवसाय दर्ता र वीमा नगरी संचालन गर्दा करोडौंको सम्पत्ति क्षति व्यहोर्नु परेकोले वडामा त्यस्ता घटना भए राज्यको दायित्व भित्र पर्ने हुँदा व्यवसाय दर्ता गरी संचालन गर्न सुझाव दिएको बताउनु भयो । अध्यक्ष सिग्देलले आ.ब. २०८१-०८२ को वडास्तरीय सुपरिवेक्षण तथा अनुगमन शीर्षकअन्तरगत अनुगमन गरिएको र अनुगमनको मुख्य उद्देश्य व्यवसायलाई वडा मातहत ल्याई राजश्वको दायरामा ल्याउन खोजिएको उल्लेख गर्नुभयो ।

वडा सचिव संजय तण्डुकारले अहिलेसम्म वडामा ३ सय २२ वटा व्यवसाय दर्ता भई संचालनमा रहेको जानकारी दिनुभयो । उहाँले वडाले ७ दिनसम्म चलाएको अभियानअन्तरगत तेस्रो दिनसम्ममा ९९ सय वटा पसलको अनुगमन भएको र ४५ वटा दर्ता नगरी संचालन गरिएको पाइएको बताउनु भयो । उहाँले दर्ता नगराई संचालन गरिएका पसल र दर्ता गराई नविकरण नगराएका पसलहरुलाई सात दिन भित्र दर्ता र नविकरण गर्न आउन पत्रकाटेको उल्लेख गर्नुभयो ।

अनुगमनको क्रममा वडा अध्यक्ष, सदस्यहरु, चन्द्रागिरि नगरपालिकाको राजश्व शाखाको प्रतिनिधि, वडाका कर्मचारी, नगरप्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय