काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चन्दनभराटेश्वर मन्दिर परिसरमा रहेको पार्वती कुण्ड संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । सरसफाइ र आवश्यक मर्मतसम्भार नहुँदा इतिहास नै संकटमा पर्ने अवस्था आएको छ ।
यता, भारतीय सरकारको सहयोगमा चन्दनभराटेश्वर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माणका काम भने जारी छन् । मन्दिर क्षेत्रको भौतिक विकास भइरहेको अवस्थामा सोही परिसरभित्र रहेको ऐतिहासिक पार्वती कुण्ड भने संरक्षणको प्राथमिकतामा नपर्दा परापूर्वकालदेखिको कुण्ड अस्तित्व नै खतरामा परेको छ ।



साउन महिना शिवभक्तहरूको विशेष आस्थाको समय मानिन्छ । यस अवधिमा चन्दनभराटेश्वर मन्दिरमा ठूलो संख्यामा दर्शनार्थी पुग्ने गरे पनि पार्वती कुण्डको दयनीय अवस्थाले आगन्तुकमा नकारात्मक सन्देश जाने निश्चित छ ।
चन्द्रागिरि नगरपालिका र चन्दनभराटेश्वर संरक्षण समितिको भूमिका प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । वडा कार्यालयले पनि चासो नदेखाएको र संरक्षण समितिले पनि वेवास्ता गर्दा ऐतिहासिक पार्वती कुण्ड इतिहासमै सीमित हुने अवस्थामा पुगेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कुण्ड, पोखरी र मन्दिर परिसरको संरक्षण केवल भौतिक संरचना निर्माणमा सीमित हुन नहुने, तिनको मौलिकता, सरसफाइ, जलस्रोत र सांस्कृतिक पहिचानलाई समेत सँगै जोगाउनुपर्ने आवश्यकता छ ।



