काठमाडौं । चन्द्रागिरि कला समूहले ‘श्रष्टा सम्मान’ गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको संस्थाको ३०औं प्रस्तुतीको रुपमा सम्मान कार्यक्रम गरेको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ को सहकार्यमा भएको कार्यक्रममा सञ्चार, कला–साहित्य, संस्कृति, खेलकूद, कलाकार, समाज सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विभिन्न श्रष्टाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं. ७ का ६ जना सञ्चारकर्मी, कलाकार तथा चलचित्रकर्मी ११ जना, संगीतकर्मी ९ जना, समाजसेवी १५ जना, ९ जना खेलाडीलगायत ५१ जनालाई सम्मान गरिएको छ । कार्यक्रममार्फत स्रष्टाहरूको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने तथा स्थानीय स्तरमा कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।



चन्द्रागिरि कला समूहका अध्यक्ष श्याम कृष्ण मानन्धरको अध्यक्षता, वडा नं. ७ का वडासदस्य एवंम नगर कार्यपालिका सदस्य उमा कुमारी थापाको संयोजकत्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख घनश्याम गिरीले यस्ता सम्मान कार्यक्रमले स्रष्टालाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विभिन्न विधाका व्यक्तित्वहरुलाई एउटै छानामुनि राखेर सम्मान गर्न पाउँदा आफूलाई पनि गर्व लागेको बताउनु भयो । प्रमुख गिरीले सम्मानित व्यक्तित्वहरुले नगरपालिकासँग देशलाई नै चिनाउने कार्य गरेको पनि उल्लेख गर्नुभयो । उहाँले अब नगरपालिकाले छिट्टै नै नगरभरी रहेका विभिन्न विधाका स्रष्टालाई सम्मान गर्ने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा न ७ का जनप्रतिनिधि भुवन कुमार केसी, रामशरण महत, पूर्णकुमारी बयलकोटीलगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा कला केन्द्रका बालबालिकाले आफ्नो नृत्यमार्फत् कार्यक्रमको रौनकता बढाएका थिए ।



