काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा – ७ मा सामुदायिक भवन निर्माण हुने भएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजन गरिएको २५ लाख रुपैयाँको बजेटबाट गौचरणमा सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।

बागमती प्रदेश सांसद यमुना देवी श्रेष्ठले भवनको शिलान्यास गर्दै नेपाली संस्कृति झल्कने कलात्मक काठका झ्याल ढोकाहरु राखेर सामुदायिक भवन निर्माण गरिने बताउनु भयो । उहाँले पहिलो चरणमा २५ लाख बजेट विनियोजन भएपनि भवन निर्माण सम्पन्न गर्नको लागि करिब २ देखि साढे २ करोड बजेट लाग्ने जानकारी दिनुभयो । उहाँले यो भवन निर्माण सम्पन्नताको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसम्म बजेट व्यवस्थापनको लागि आफुले पहल गर्ने बताउनु भयो । उहाँले भवन निर्माण प्रदेश सरकारले नै गर्ने र पछि वडालाई हस्तान्तरण गर्ने गरी काम हुन लागेको पनि जानकारी दिनुभयो ।

सामुदायिक भवन निर्माण गर्न लागिएको जुन स्थान वडा कार्यालय निर्माण गर्ने भनि वडाले नेपाल सरकारसँग स्वीकृतिको लागि सिफारिस गरी पठाएको ठाउँ हो । नेपाल सरकारले पछिल्लो समय वडा कार्यालय बनाउन जग्गाको मापदण्ड तोकेपछि मापदण्ड नपुग्दा उक्त स्थानमा वडा कार्यालय नबनाई सामुदायिक भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको लागि छुट्टै नक्सा नबनाई वडा कार्यालय भवन निर्माणको लागि बनाइएको नक्सा नै सामुदायिक भवन निर्माणको लागि प्रयोग गरिएको वडाका जनप्रतिनिधिहरु बताउँछन् ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, वडाबासी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, ज्येष्ठ नागरिकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय