काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा आयोजना हुन लागेको नवाह तथा दीप प्रज्ज्वलन कार्यक्रमको तयारी तीब्र गतिमा अघि बढिरहेको छ । स्थानीय बासिन्दा, विभिन्न संघसंस्था तथा धार्मिक अभियन्ताहरूको सक्रिय सहभागितामा कार्यक्रम स्थलमा स्टेज निर्माण, मण्डप सजावट, ध्वनि व्यवस्थापन लगायतका कामहरू अन्तिम चरणतर्फ पुगेका छन् । यस धार्मिक महोत्सवले क्षेत्रको आध्यात्मिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।



आगामी बैशाख ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने नवाह कार्यक्रममा प्रख्यात कथावाचक पण्डित दिनवन्धु पोखरेलले लगातार नौ दिनसम्म भागवत कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ । उहाँको कथा वाचनले श्रद्धालुहरूलाई धार्मिक ज्ञान, नैतिक शिक्षा तथा आध्यात्मिक ऊर्जा प्रदान गर्ने आयोजकहरूको अपेक्षा रहेको छ ।
कार्यक्रमको पहिलो दिन भव्य कलश यात्रा निकालिनेछ, जसमा सयौं भक्तजनहरूको सहभागिता रहनेछ । कलश यात्रापछि पूर्वाङ्ग विधिहरू सम्पन्न गरिने र त्यसपछि औपचारिक रूपमा कथा वाचन आरम्भ गरिनेछ । नौ दिनसम्म चल्ने यस महोत्सवमा दैनिक रूपमा विभिन्न चर्चित धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ, जसले कार्यक्रमलाई थप आकर्षक बनाउनेछ ।
यस धार्मिक आयोजनाले समुदायमा आपसी सद्भाव, सहयोग र एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ । सामाजिक अभियन्ता हरि महतका अनुसार सम्पूर्ण तयारीहरू लगभग पूरा भइसकेका छन् र कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा भव्य बनाउन सबै पक्ष एकजुट भएर लागिपरेका छन् । श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पूण्यलाभ लिन आयोजकले आग्रह गरेका छन् ।



