काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले युवाहरूको सीप, क्षमता र रोजगारीका अवसर अभिवृद्धि गर्ने उद्देश्यले फोहर वर्गीकरण तथा जीपिएस÷जीआईएस डिजिटल अनलाइन सेवा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । यस सम्बन्धमा वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै इच्छुक युवायुवतीलाई नाम दर्ता गर्न आग्रह गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ कार्यालय र चन्द्रागिरि मिडिया सेन्टरबीच भएको सम्झौताअनुसार उक्त तालिम सञ्चालन गर्न लागिएको हो । आधुनिक प्रविधिको प्रयोगमार्फत वातावरणीय व्यवस्थापन तथा डिजिटल सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यो तालिमले स्थानीय युवाहरूलाई व्यवहारिक ज्ञान र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ ।



वडा नं. ७ भित्र बसोबास गर्ने तथा तालिममा सहभागी हुन इच्छुक युवायुवतीहरूले तोकिएको मितिभित्र वडा कार्यालयमा उपस्थित भई आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तालिमले जीपीएस÷जीआईएस प्रविधिको प्रयोग तथा डिजिटल अनलाइन सेवाको प्रभावकारी उपयोगबारे ज्ञान प्रदान गर्ने छ ।
स्थानीय तहमा प्रविधिमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने तथा युवालाई सीपमूलक अवसरसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन हुन लागेको हो । तालिममार्फत प्राप्त ज्ञान र सीपले सहभागी युवाहरूलाई व्यक्तिगत तथा व्यावसायिक विकासका साथै समुदायस्तरमा समेत योगदान पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
वडा कार्यालयले इच्छुक युवायुवतीहरूले २०८२ असार २५ गते भित्र कार्यालय समयमा उपस्थित भई नाम दर्ता गराउन र तालिम सम्बन्धी थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
कार्यबहाक वडा अध्यक्ष रामशरण महतले युवाहरूलाई अवसरको सदुपयोग गर्दै तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ । उनले प्रविधि र वातावरण व्यवस्थापनसम्बन्धी ज्ञान आजको आवश्यकता भएकाले यस्ता कार्यक्रमले स्थानीय युवालाई सक्षम, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।




