काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । उहाँ उद्योगको स्थानान्तरण र विद्युत् जडानको सिफारिस गर्नका लागि बिचौलियामार्फत चार लाख रुपैयाँ घुस मागेका थिए ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू न्यायाधीश रामबहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो । उजुरीकर्ताले तामाङले ललितपुर महानगरपालिका–२२ स्थित पी थ्री प्रोडक्टस् र भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरणको लागि घुस मागेको दाबी गरेका थिए । तामाङले उक्त रकम दुई लाख नगद र दुई लाखको चेकको रूपमा लिएका थिए ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा तामाङको भ्रष्टाचारको प्रमाण भेटिएको थियो, जसका आधारमा विशेष अदालतले उहाँलाई ६ महिना कैद र चार लाख रुपैयाँ बिगो र जरिवाना तोकेको हो । यही कसुरमा संलग्न ध्रुवबहादुर कडायतलाई पनि सोही सजाय सुनाएको छ ।



