काठमाडौं — भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्न थालेको छ। लगातार चार दिनको झरीपछि आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकाको मौसम खुल्दै गएको हो।आइतबार दिउँसो उपत्यकामा घाम लागेको छ भने आकाशसमेत खुलेको छ। काठमाडौंसहित बागमती प्रदेशका क्षेत्रमा मनसुनको प्रभाव कमजोर हुँदै गएको मौसमविद्हरूले बताएका छन्।
यद्यपि, आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा वर्षा हुने र एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो।



यसैगरी, बंगालको खाडीबाट जलवाष्प बोकेको हावा गएराति नेपालको मध्य भूभागतर्फ केन्द्रित भएको थियो। त्यसको प्रभावका कारण केही स्थानमा वर्षा भए पनि अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर हुँदै गएको मौसमविद् अधिकारीले बताएका छन्।न्यूनचापीय प्रणाली कमजोर भएसँगै त्यसको प्रभाव पनि घट्दै गएको छ। यद्यपि प्रणालीको केही प्रभाव बाँकी रहेकाले आइतबार पनि देशका विभिन्न स्थानमा वर्षाका गतिविधि देखिन सक्ने मौसमविद्हरूको भनाइ छ।
लगातारको वर्षापछि काठमाडौंको मौसम खुलेसँगै जनजीवनसमेत सामान्य बन्दै गएको छ। तर देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी पूर्वसूचना र सरकारी निकायको जानकारीमा ध्यान दिन आग्रह गरिएको छ।



