काठमाडौं । चितलाङ्ग लामिछाने बन्धु समाजले आफ्नो छैठौ साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंको चन्द्रागिरिमा आयोजित कार्यक्रममा समाजले छैठौ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा करिब ३ सय वर्ष पहिले लामिछानेहरुका पूर्खा सिद्धिखर चितलाङ्गमा बस्दै आएको बंशावलीमा उल्लेख गरिएको छ ।




उही सिद्धिखरका सन्तान देशका विभिन्न स्थानमा आफ्नो जिविकोपार्जन तथा पेशा व्यवसायले आफ्नो जन्मस्थान छोड्दै जान थाले । छरिएर रहेका बन्धुबीच चिनजान भेटघाट समेत नहुने अवस्था सिर्जना हुनथालेपछि सिद्धिखरका सन्तान चिन्ने र चिनाउने गरी गोलबद्ध भई मिति २०६६ साल बैशाख १ गते छरिएर रहेका आफ्नो दाजुभाईलाई एउटै छातामुनि ल्याउने उद्देश्यका साथ चितलाङ्ग लामिछाने समाज गठन हुन पुग्यो ।

सोही समाजले चितलाङ्गमा शिव पाञ्चायन मन्दिरको स्थापना गरेको छ । सोही मन्दिरलाई नै सिद्धिखर धाम क्षेत्र विकास समिति नामक संस्था दर्ता गरी सो क्षेत्रको मौलिक, सास्कृतिक विकास गरी सोही भेगमै पवित्र गन्तव्य तीर्थ स्थलको रुपमा विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समाजका अध्यक्ष बासुप्रसाद लामिछानेले जानकारी गराउनु भयो ।

कार्यक्रममा सोही समाजका सल्लाहकार तथा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले २०६६ साल देखि सुरु गरिएको समाजले २०८० सम्म आइपुग्दा थुप्रै काम गरेको भन्दै समाजको प्रशंसा गर्नुभयो । लामिछानेले पहिले आफ्नो कुलदेवता विर्सिएको र अहिलेका युवा पुस्ताले समाजको माध्यमबाट यसलाई उजागर गरेर आफ्नो पहिचान बनाउन सकेको बताउनु भयो ।

उहाँले चितलाङ्गका लामिछानेहरु देशका चारै कुनामा फैलिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा गर्ग गोत्रीय चितलाङ्ग लामिछाने बन्धुहरुको वंशावली भाग १ लोकापर्ण गरिएको छ । वंशावली निर्माण समितिका सदस्य रामेश्वर प्रसाद लामिछानेले १४ वर्ष लगाएर वंशको नालीवेलीलाई लिपिबद्ध गर्न सफल भएको बताउनु भयो ।

त्यसैगरी समाजका सहसचिव तथा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रमोद लामिछानेले समाजको नेतृत्व अब युवा पुस्ताले लिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै समाजका सल्लाहकार डा. रामहरी लामिछानेले वंशावलीमा ठेगाना लेखिदा आफ्नो बास्तविक ठेगाना पहिले लेख्न अनुरोध गर्नुभयो ।

उहाँले हालको ठेगाना लेखिदा पछिल्लो पुस्ताले आफ्नो बास्तविक ठेगाना खोज्न असहज हुने पनि स्पष्ट पार्नुभयो । यसैगरी समाजका सचिव श्रीराम लामिछानेले वंशावली महत्वपूर्ण दस्तावेज भएकोले यसलाई सामान्यरुपमा नलिन समाजका बन्धुहरुलाई आग्रह गर्नुभयो । साथै लामिछाने समाजका बुहारीहरुको समूह ऊर्जासिल बुहारी समूहका अध्यक्ष रञ्जु लामिछानेले घर व्यवहारले गर्दा आफ्नो र आफन्तको नै पहिचान गर्न नसक्ने अवस्थामा समाजले सबै बन्धुलाई एकै ठाउँमा उभ्याएर उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा समाजले ८० वर्ष पुगेका ज्येष्ठ सदस्य ६ जनालाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । साधारण सभाले बासुप्रसाद लामिछानेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको पदावधि ३ वर्षको हुनेछ ।



