चितवन, १८ फागुन २०८२ — चितवन जिल्लाको रत्ननगर नगरपालिका–१० भानु चोकस्थित सडकखण्डमा आइतबार राति प्रहरीको मोबाइल गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा चालकसहित चार जना प्रहरी कर्मचारी घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरबाट टाँडी तर्फ आउँदै गरेको इलाका प्रहरी कार्यालय खैरहनीको ना १ झ १४०५ नम्बरको मोबाइल गाडीलाई टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको तेल ट्याङ्करले राति करिब १२:३० बजे ठक्कर दिएको हो। उक्त मोबाइल गाडी वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको निर्वाचन सामग्री स्कर्टिङ गरी फर्किंदै थियो।

दुर्घटनामा घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम किशोर सुडी रहेका छन्। उनको शरीरका विभिन्न भागमा मध्यम चोट लागेको छ। यस्तै, महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँबाट थप मद्दतका लागि खटिई हाल खैरहनीमा कार्यरत प्रहरी हवल्दार चेतनाथ पोखरेलको टाउकोमा गम्भीर चोट लागेको छ।त्यसैगरी, चालक प्रहरी जवान महेश घिमिरेको टाउकोमा मध्यम चोट लागेको छ भने प्रहरी जवान ईश्वरी दानीको शरीरका विभिन्न भागमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ।सबै घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको छ। ठक्कर दिने ट्याङ्कर फरार रहेको र खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि सडक अवरुद्ध नभएको र मोबाइल गाडी घटनास्थलमै रहेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय टाँडीबाट करिब एक किलोमिटर पश्चिममा पर्छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय