विश्व हिन्दु महासंघ चितवनले शुक्रबारका लागि घोषणा गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ। महासंघले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्बोधन तथा गृहमन्त्री र पीडित पक्षबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिँदै बन्द फिर्ता गरिएको जनाएको हो।

महासंघ चितवनका अध्यक्ष प्रेम गैरेका अनुसार सरकारले देखाएको सकारात्मक पहललाई स्वागत गर्दै बन्दका कार्यक्रम स्थगित गरिएको हो। उनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

बन्द फिर्ता भएसँगै पूर्वी चितवनको खैरहनी नगरपालिका–पर्सामा युवा स्वर्ण तारा क्लबको आयोजनामा सद्भाव र्‍याली निकालिएको छ। र्‍यालीमा स्थानीयवासी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

यता, सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेका बेला चितवनमा धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न शुक्रबार साँझ ४:३० बजे बृहत् सद्भाव र्‍याली आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा हुने उक्त र्‍यालीमा विभिन्न राजनीतिक दल, सामाजिक तथा धार्मिक संघसंस्था, नागरिक समाज र सर्वसाधारणको सहभागिता रहने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले सबै समुदायलाई र्‍यालीमा सहभागी भई सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश फैलाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय