काठमाडौं । मकवानपुरलाई काठमाडौंसँग जोड्ने महत्वपूर्ण सडक परियोजनामध्ये एक मानिएको चित्लाङ–चन्द्रागिरि सडक (गणेशमान मार्ग) को निर्माण कार्य यतिबेला तीव्र गतिमा अघि बढिरहेको छ । पूर्वमाननीय तथा नेकपा एमालेका नेता महेशकुमार बर्तौलाको विशेष पहलमा विनियोजित बजेटमार्फत सुरु गरिएको यस सडक निर्माण कार्यलाई स्थानीयवासीले क्षेत्रको समग्र विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरेका छन् ।
वर्षौंदेखि सहज यातायात पहुँचको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाहरूका लागि यो सडक निर्माणले नयाँ आशा जगाएको छ । चित्लाङ क्षेत्रलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने यस मार्गले पर्यटन, कृषि उत्पादनको बजार पहुँच, स्थानीय अर्थतन्त्र तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




तर निर्माण कार्य अगाडि बढ्दै गर्दा केही स्थानमा कामको गुणस्तर, प्राविधिक मापदण्डको पालना तथा निर्माण प्रक्रियामा देखिएका सम्भावित कमजोरीहरूबारे स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । सडकको केही खण्डमा देखिएका संरचनागत त्रुटि, निर्माण सामग्रीको प्रयोग तथा कामको गति र विधिमा सुधार आवश्यक रहेको भन्दै स्थानीयहरूले जनगुनासो व्यक्त गरेका हुन् ।
स्थानीय बासिन्दाहरूका अनुसार विकास निर्माणका कार्यहरू केवल छिटो सम्पन्न गर्नु मात्रै पर्याप्त हुँदैन, ती कार्यहरू दीर्घकालसम्म टिकाउ र गुणस्तरीय हुनुपर्नेमा विशेष ध्यान दिन आवश्यक हुन्छ । अन्यथा अहिले निर्माण गरिएका संरचनाहरू केही वर्षमै क्षति पुग्ने जोखिम रहने उनीहरूको भनाइ छ ।
यही सन्दर्भमा सरोकारवाला पक्षले सम्बन्धित निर्माण व्यवसायीहरूसँग भेटघाट गरी निर्माण कार्यलाई प्राविधिक मापदण्डअनुसार, गुणस्तरीय तथा दिगो बनाउँदै अगाडि बढाउन आग्रह गरेका छन् । स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूले पनि निर्माण प्रक्रियाको नियमित अनुगमन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

चित्लाङ–चन्द्रागिरि सडक केवल एउटा यातायात मार्ग मात्र नभई यस क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरणसँग जोडिएको महत्वपूर्ण पूर्वाधार परियोजना भएकाले यसको निर्माणमा कुनै पनि प्रकारको लापरवाही हुन नहुने स्थानीयहरूको भनाइ छ । उनीहरूले विकासका नाममा कमजोर संरचना स्वीकार्य नहुने स्पष्ट पार्दै, समयमै आवश्यक सुधार गरी सडकलाई दीर्घकालसम्म टिक्ने गरी निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
स्थानीयहरूका अनुसार यदि निर्माण कार्य गुणस्तरीय र मापदण्डअनुसार सम्पन्न भयो भने यस सडकले चित्लाङ क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन र समग्र क्षेत्रको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।



