अर्थमन्त्री डा. प्रकाशशरण महतले वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । आज वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले चिनी कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका हुन । अर्थमन्त्री महतले सम्भाव्यता अध्ययनपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्ने स्पष्ट पारे ।



मन्त्री महतले कृषि औजार कारखानामा पनि आफूले अनुगमन तथा निरीक्षण गरेको जानकारी गराउँदै त्यसलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि सरकार गम्भिर रहेको उल्लेख गरे । मन्त्री महतले वीरगञ्जमा देखिएको खानेपानी समस्या समाधानका लागि सरकारले पहल गर्ने आश्वासन समेत दिए ।
जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा देखिएको पानी अभावले गर्दा खेती पनि हुन नपाएको चिन्ता व्यक्त गर्दै मन्त्री महतले यसले खाद्य अभावको अवस्था सृजना गर्ने बताए । आयातित सामग्रीमा लेबलिङ्ग गर्नुपर्ने नयाँ प्रावधानका बारेमा स्पष्ट पार्दै उनले यसले अवैध रुपमा आयात हुने सामग्री नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । मन्त्री महतले सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफूले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर गरे ।



