काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली तथा उच्च पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले फागुन २१ हिउँद सकिने समय भएकाले वर्षा तथा हिमपातको सम्भावना नरहने अनुमान गरेको हो ।
एक महिनापछिको अवस्थाबारे एकिन गर्न नसकिने भए पनि साधरणतया फागुनको १५ बाट बिस्तारै हिँउद सकिएर प्रिमनसुन सुरु हुने समय भएकाले प्रतिकुल अवस्था नआउने अनुमान छ । चुनावका बेला उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम कस्तो रहला भन्ने चासो बढिरहेका बेला महाशाखाले यस्ता बताएको हो । फागुनको अन्तिम सातादेखि चैत र बैशाख महिनामा सामान्यतया हावाहुरी वा हल्का वर्षा हुन सक्ने समय भए पनि चुनावमा मौसमी प्रतिकुलता नहुने महाशाखाको भनाइ छ ।



मंगलबार प्रधानमन्त्री सुशिला कार्कीले हिँउ परे दूई चरणमा गराएर भएता पनि चुनाव सम्पन्न गरिने बताउनु भएको थियो । हिमाली तथा उच्च पहाडी जिल्लामा निर्वाचन तयारीका लागि सामग्री ढुवानी देखि कर्मचारी र सुरक्षाकर्मी परिचालनमा आयोगले काम गरिरहेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभएको छ ।



