काठमाडौं । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले काठमाडौंमा गरेको नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक छलफलमा उहाँहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेको समयमा छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्नेु बताउनु भएको हो ।
संस्थाका अध्यक्ष शोभित उप्रेती, सूचना प्रविधि विज्ञ बसन्त वन, अर्थविद डा. केशव बस्याल, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली लगायतले छिमेकीको विकासको मोडल हेरेर नेपालले पनि सोहीअनुसार विकासको मोडल तयार पारी अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।



नेपालले सूचना र प्रविधि, सडकलगायतका भौतिक पूर्वाधार, विद्युत, ट्रान्समिसन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको पर्याप्त सहयोग लिनसक्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो । छिमेकी मुलुकसँग सम्बन्ध बलियो पार्न आपसी भेटवार्ता, द्वीपक्षीय भ्रमण, एक अर्काको सुरक्षा तथा आर्थिक चासोका विषयमा भने चनाखो रहनुपर्ने उहाँहरु बताउँछन् ।



