काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणको लागि सूचना जारी गरेको छ ।नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाङ्गता तथा बालबालिकालगायत लक्षित समूहका लाभग्राहीलाई परिचयपत्र नवीकरण गर्न आह्वान गरेको हो । नगरपालिकाका वरिष्ठ शाखा अधिकृत नविन खालिङले आर्थिक वर्ष २०८०-०८१ मा पनि नियमित रुपमा भत्ता प्राप्त गर्नका लागि श्रावण १ गते देखि भाद्र मसान्तसम्म नवीकरण गर्न आग्रह गर्नुभएको छ ।
अधिकृत खालिङले नवीकरण गर्न लाभग्राही आफै, बालबालिकाको हकमा नीजको आमा, बाबु, संरक्षक वा स्याहारसुसार गर्ने व्यक्ति र स्वयम् उपस्थित हुन नसक्ने लाभग्राहीको हकमा संरक्षकले आफ्नो वडा कार्यालयमा निवेदन दिनेसक्ने बताउनु भएको छ । उहाँले यदि तोकिएको समयमा नवीकरण नभए वा नगराए स्वतः उक्त व्यक्तिले पाउँदै आएको सेवा सुविधा काटिने पनि जानकारी गराउनु भयो ।







