गत साता २४ घण्टाको अन्तरमा रसुवा र मुस्ताङमा दुई सुप्राग्लेसियल ताल फूटेर आएको विनाशकारी बाढीलाई विज्ञहरूले जलवायु संकटको चेतावनीको रूपमा लिएका छन्। जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा तापक्रम तीव्र गतिमा बढ्दै जाँदा नयाँखाले विपद् देखिएको पुष्टि भयो। जलवायु संकटको चपेटमा नेपाल परिरहँदा पनि सरकारले पूर्वसूचना र चेतावनी दिने उपकरण जडानमा तीव्रता नदिए भविष्यमा जनधनको क्षति बढ्नसक्ने चिन्ता चुलिएको छ ।



२०८२ असार २४ गते तिब्बततर्फबाट बिहान ४ बजेतिर आएको भीषण बाढीका कारण रसुवामा जनधनको व्यापक क्षति भयो । मोटरेबल पुल, जलविद्युत संरचना, सडकसहित ठूलो भौतिक र मानवीय क्षति भयो।
२०८२ असार २४ गतेमाथिल्लो मुस्ताङबाट आएको भिषण बाढीले पनि चार वटा पुल र सडकमा क्षति पुग्यो । लोमान्थाङ गाउँपालिका भएर बग्ने चुम्जुङ खोलामा आएको बाढीबाट मानवीय क्षति भने हुन पाएन ।
एक साता अघि २४ घण्टाको अन्तरालमा दुईवटा विपद् असामान्य रूपमा भएका थिए । जसलाई अध्ययन र अनुसन्धानबाट हिमनदीजन्य बाढी आएको पुष्टि भयो । इसिमोड लगायत मौसम पूर्वानुमान महाशााखाको अनुसन्धानले पनि दुईवटै घटना हिमताल विस्फोटबाट भएको निष्कर्ष निकालियो । मुस्ताङको लोमान्थाङ वडा नम्बर ४ मा हिमताल फुटेर चुम्जुङ गाउँको छुआमा खोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि नै भयो । यि घटनाले नेपालमा हिमताल विस्फोटजस्ता अन्तरदेशीय विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणाली कति अपर्याप्त छन् भन्ने प्रमाणित गरेको छ । यदि चीनतर्फबाट सूचना समयमै प्राप्त भएको भए, जीवन र पूर्वाधारको क्षति न्यूनीकरण गर्न सकिने जानकार बताउँछन् ।
नेपालको जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर करिब २ हजार भन्दा बढी हिमताल छन्, जसमध्ये ३ सय ५० भन्दा बढी उच्च जोखिमयुक्त छन्।
जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले हिमपात घटेको र हिमपग्लने क्रम बढेको छ। यसले हिमतालको आकार बढाउनुका साथै विस्फोटको जोखिम समेत बढाएको विज्ञहरूको चेतावनी छ।
सरकारले केही हिमतालहरूमा पूर्वसूचना र चेतावनी दिने उपकरण जडान गरिसकेको छ, तर त्यो संख्या अत्यन्त सीमित छ। रसुवा, सोलुखुम्बु, ताप्लेजुङजस्ता हिमाली जिल्लाहरू अझै उच्च जोखिममा छन्। यस्ता स्थानमा सूचना प्रवाहको सञ्जाल मजबुत बनाउँदा जनधनको क्षति कम हुने विज्ञको तर्क छ ।
यद्यपि नेपालमा विपद् व्यवस्थापनसम्बन्धी नीति, ऐन, योजना तथा निकायहरू सक्रिय छन्, कार्यान्वयनमा भने स्थानीय तहमा कमजोरी, स्रोतसाधनको अभाव, प्रविधिको न्यून प्रयोग र संस्थागत समन्वयको कमी देखिन्छ।
जलवायु परिवर्तनका असर झेलिरहेका नेपालजस्ता हिमाली देशहरूका लागि अब प्रतिकार्य होइन, पूर्वतयारी र न्यूनीकरण नीतिमा ध्यान दिनु समयको आवश्यकता हो। हिमताल विस्फोटजस्ता घटनाबाट जीवन र संरचना जोगाउन अन्तरदेशीय समन्वय, सुदृढ पूर्वसूचना प्रणाली र प्रभावकारी कार्यान्वयन अनिवार्य बन्दै गएको छ।



