नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगले बोलाउँदा बयान दिन जानुपर्ने बताउनुभएको छ । ११औँ महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणाबारे बुधबार काठमाडौंमा सम्पादकहरूसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आयोगमा बयान दिन जान्न भन्न नमिल्ने बताउनुभयो । आयोगका अध्यक्षबारे भने प्रश्न उठेको उहाँको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताउनुभयो । त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलको दाबी छ ।



एघारौं महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ तर प्यालन घोषणा हुने वा नहुने भन्नेबारे उहाँले खुलाउनुभएन । । उहाँले कुनै झोंकमा आफूले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताउनुभयो । पोखरेलले नीतिमा प्रश्न नभए पनि नेतृत्वको कार्यशैलीमा आफूहरू प्रतिस्पर्धामा उत्रिन लागेको प्रस्ट्याउनुभयो । पार्टीको तथ्य एउटा तर काम अर्को हुन थालेपछि यसलाई तोड्नेगरी आफूहरू अगाडि बढ्न लागेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्याक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने पनि बताउनु भयो



