जाजरकोट – जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। पहिरोमा परी छ जना घाइते भएका छन्। शनिबार साँझ पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेसँगै मृतकको संख्या चार पुगेको हो। यसअघि पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिनुभयो।

पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही वडाकी करिब ८७ वर्षीया रती खत्री र उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन्। केदार कार्कीको भने उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी घाइते भएका छ जनाको जाजरकोट र सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लगातारको वर्षाका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसहित वडा नं। ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी तथा वडा नं। १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती उच्च जोखिममा परेका छन्।

पहिरोको जोखिम बढेपछि प्रभावित क्षेत्रका दुई सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षाकर्मी तथा स्थानीय तहको समन्वयमा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने तथा प्रभावित क्षेत्रमा आवश्यक उद्धार र खोजी कार्य भइरहेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन तथा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेका छन्। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय