काठमाडौं – नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा हुने अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। जापानको करिया सहरमा यही भदौ २० गते आयोजना हुने ‘हिट किक बक्सिङ–५९’ मा घिमिरेले फ्रान्सका बक्सर माथन स्वीनार्डको सामना गर्नेछन्। अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (IKBA)अन्तर्गतको वर्ल्ड मेन इभेन्टमा हुने यो भिडन्त घिमिरेका लागि अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय परीक्षा हुनेछ।
काठमाडौंको गुर्जुधारा निवासी घिमिरे पछिल्लो समय अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। उनले हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गरिसकेका छन्। हिट किक बक्सिङ र (IKBA) का टाइटल म्याचमा सफलता पाएका घिमिरेले केवान क्रस–१७५ र केवान क्रस–१८२ का टाइटल म्याचसमेत जितिसकेका छन्।घिमिरेले हालसम्म २८ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको बताइएको छ। विभिन्न प्रकाशित विवरणअनुसार उनले तीमध्ये २० प्रतियोगितामा जित हासिल गरेका छन्।



अन्तर्राष्ट्रिय रिङमा लगातार प्रतिस्पर्धा गर्दै आएका घिमिरे यसपटक पनि जित निकाल्ने लक्ष्यमा छन्। फ्रान्सेली बक्सर स्वीनार्डविरुद्धको भिडन्त उनका लागि आफ्नो क्षमता थप प्रमाणित गर्ने अवसरका रूपमा हेरिएको छ। जापानमा हुने यो प्रतिस्पर्धालाई नेपाली खेलप्रेमीहरूले पनि चासोका साथ हेरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि लगातार प्रतिस्पर्धा गर्दै आएका ‘हिमालयन चितुवा’ले यसपटक कस्तो प्रदर्शन गर्ने हुन् भन्नेमा खेलप्रेमीहरूको ध्यान केन्द्रित भएको छ।



