रौतहट । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न हुन नसक्दा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । चन्द्रपुर नगरपालिकाको ९ वटा वडामा खानेपानी आयोजना सञ्चालन भएपनि वडा नं–२ जुडिबेलामा खानेपानीको पहुँच पुग्न नसक्दा स्थानीय काकाकूलको अवस्थामा छन् ।

वि.सं. २०७२ बाट निर्माण सुरु भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जुडिबेलाबसीलाई शुद्ध पानी खुवाउनका लागि विभिन्न निकायमा धाइरहेको जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताउँछन् । २०७८ सालको जनगणनाअनुसार २ हजार ४८ घरपरिवारमा ९ हजार ९ सय ८२ जनसंख्या रहेको उल्लेख गरिएपनि अहिले २ हजार ५ सय भन्दा बढी घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङ बताउँछन् ।

आर्थिक वर्ष २०८०-०८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले जानकारी दिनुभयो । अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निर्माण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको छ । जुडिबेलाका २ हजार ५ सय घरका करिब १० हजार नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने आयोजनाले जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय