जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । दुईमन्त्री थपिएपछि १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । आजै चार मन्त्रीलाई नियुक्त गर्ने तयारी रहेपनि अन्तिममा दुईजनाको नाम काटिएको थियो । कस्ता पृष्ठभूमिका मन्त्री थपिए त ?

प्रधानमन्त्री सुशील कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पूर्वस्वास्थ्य सचिव डाक्टर सुधा शर्मा गौतमलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने समाजसेवी बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री बनाइएको छ । आइतबार विहानै प्रधानमन्त्री कार्कीले चार मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो तर, विवादित खगेन्द्र सुनारको नाम काटिएको थियो । सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र प्रहरीको फरार सूचीमा रहेको भन्दै चौतर्फी आलोचना भएको थियो । मन्त्रीमा नाम सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि सपथ भएन । सपथ लिएका २ मन्त्रीले आइतबार नै पदभार ग्रहण गरेका छन् ।

–डा। सुधा शर्मा गौतम– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
प्रसूति तथा स्त्री रोग विशेषज्ञ शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्व सचिव हुनुहुन्छ । २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गर्नुभएकी शर्मा सचिव बन्न सफल हुनुभएको थियो । उहाँ नेपाल चिकित्सक संघको पहिलो महिला अध्यक्ष पनि हुनुभएको थियो । उहाँले चिकित्सक लगायत पेशागत छाता संगठन पापडको पनि अध्यक्षकोरुपमा रहनुभयो । मन्त्री शर्माले भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमबाट डिजिओ, बेलायतको रोयल कलेज अफ लण्डनबाट फेलोसीप गर्नुभएको छ । उहाँ त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक हेल्थमा गोल्ड मेडलिष्ट समेत हुनुहुन्छ । उहाँ चिकित्सा क्षेत्रका विभिन्न अन्तर्राष्ट्रिय संघ÷संस्थाको पनि अध्यक्ष बनिसक्नुभएको छ । दक्षिण एसियाली महासंघको अध्यक्ष बन्नुभएकी शर्माले एसिया ओसियाना महासंघ शिक्षा समितिको नेतृत्व पनि सम्हाल्नुभएको थियो । शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत प्रकाशित छन् ।

–बब्लु गुप्ता– युवा तथा खेलकुद मन्त्री
बब्लु गुप्ता लामो समयदेखि सामाजिक र परोपकारी कार्यमा सक्रिय हुनुहुन्छ । कोभिड महामारीका बेला उहाँले विपन्न र प्रभावितका लागि निःशुल्क खाना अभियान सञ्चालन गर्नुभएको थियो । विपन्न र आर्थिक अवस्था कमजोर व्यक्तिका लागि कपडा बैंकको अभियान चलाएका गुप्ता हन्ड्रेड ग्रुपका संस्थापक रहनुभएको थियो । अनलाइनखबरको ४० मुनिका ४० मा समेत पर्नुभएको थियो । ‘हन्ड्रेड ग्रुप’ले विद्यार्थीहरूलाई निःशुल्क पढाउने, बिरामीका लागि आवश्यक रगत खोजिदिने कार्य गर्दै आएको छ । सपथ लिएका यी दुईमन्त्री तुलनात्मकरुपमा सामाजिक काममै सक्रिय हुन् । जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिएका मिराज ढुंगाना, रक्षा बम, सुदन गुरुङ जस्ता चर्चामा आएकाहरु भने सरकारमा सहभागी भएका छैनन् । आन्दोलनको नेतृत्वमा रहेका विभिन्न समूहमा विभाजित छन् र उनीहरूको माग र अडानमा पनि एकरूपता छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय