काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र रहेका अधिकांश सीसी क्यामेरा नचल्दा नगरको शान्ति सु–व्यवस्थालगायतका विषयमा चुनौति थपिदै गएको छ । नागढुंगादेखि कलंकी खड्कुलेपुलसम्मको पृथ्वी राजमार्ग हाइवे सडकमा हुने गतिविधिलाई निरन्तररुपमा ६४ वटा क्यामेराबाट निगरानी गरिएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा सडक छेउछाउ राखिएका क्यामेराहरु तोडफोड र अगजनी भएपछि राजमार्ग सीसी टिभिविहीन हुन पुगेको छ । आन्दोलन भन्दा अघि केही क्यामेराले काम नगरेपनि आन्दोलनपछि सडक छेउछाउ पोलमा राखिएका क्यामेराहरु अहिले शोको रुपमा मात्र झुण्डिएका छन् ।



मुख्य सडक मात्र नभई नगर सुरक्षाका लागि भनि राखिएका कुनै पनि सीसी क्यामेरा अहिले चल्दैन । प्रहरी वृत्त थानकोटले नगर भित्र शान्तिसुरक्षाको लागि १८० वटा सीसी क्यामेराबाट निगरानी गर्दै आएको थियो । आन्दोलनको क्रममा अधिकांश क्यामेरा तोडफोड र आगजनी गरियो । प्रहरी वृत्त थानकोटको नवर्निर्मित भवनमा पनि आगो लगाइयो । आगोले सीसी क्यामेराको सर्वर नै पूर्णरुपमा नष्ट भयो ।
नगर क्षेत्र भित्र प्रविधिको प्रयोगबाट आपराधिक घट्ना न्यूनीकरण गर्नको लागि प्रहरी र स्थानीय संघसंस्थाको समन्वयमा नगरपालिकाले विभिन्न चोक, मुख्य सडक, शाखा सडक, भित्र बस्तिमा क्यामेरा जडान गरिएको थियो । ती सबै क्यामेराको सर्वाधिकार नगरपालिकाले प्रहरी वृत्त थानकोटलाई दिएको थियो । प्रहरी वृत्त थानकोटले नगर भित्र शान्तिसुरक्षा कायम गर्न र आपराधिक घटना अनुसन्धानको लागि सीसी टिभिको मद्दतबाट सहज बनेको थियो ।
केही वर्षअघि विहानपख झिसमिसेमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । ठक्कर दिने ट्रक र चालक फरार भए । फरार चालकलाई पक्राउ गर्न प्रहरी सफल भयो । सडकभर नै राखिएको सीसी क्यामेराकै मद्दतबाट ट्रक र फरार रहेका चालकलाई पक्रन प्रहरी सहजरुपमै सफल भएको थियो ।
काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रुपमा रहेको पृथ्वी राजमार्ग कलंकीदेखि नागढुंगासम्म दुर्घटनाको तथ्यांकलाई हेर्ने हो भने ठूलो सानो गरी दैनिक कम्तिमा एउटा सवारी साधन दुर्घटना हुने गरेको छ । अहिले नगर भर नै सडक होस् या बस्तिमा कहि कतै पनि सीसी क्यामेरा नहुँदा दुर्घटना भयो भने दोषि पत्ता लगाउन समेत निकै कठिन हुने अवस्था देखिन्छ । शान्तिसुरक्षालाई प्रमुख रुपमा लिइएको सीसी टिभि आन्दोलनको क्रममा ध्वस्त पारिनु यो सरासर गलत हो । जसले गर्दा समाजमा हुने अवाञ्छित गतिविधि रोक्न कठिन हुँदै गएको छ ।
जेनजी आन्दोलनपछि भएका सीसी टिभि तोडफोड र आगजनी पश्चात शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी प्रभाग बलम्बुले सीसी टिभि संचालनमा ल्याएको छ । बलम्बु चौकी मातहत २३ ठाउँको ६४ वटा सीसी टिभी मर्मतपछि संचालनमा ल्याइएको छ । जसले गर्दा शान्ति सुुरक्षामा केही भएपनि राहतको अनुभूति भएको छ ।
चन्द्रागिरि नगरपालिका भित्र रहेका अधिकांश सीसी टिभिलाई जतिसक्दो चाँडो मर्मत सम्भार गरी संचालनमा ल्याउन जरुरी छ । नगरले सीसी टिभि पूर्णरुपमा संचालन ल्याउनको लागि पुनः पोलबाट अप्टिकल फाइबर तानेर क्यामेरा जडान गर्न समय लाग्न सक्छ । नेपाल टेलिकमले नगरभर नै जमीन मुनि विच्छ्याएको अप्टिकल फाइबरबाट तुरुन्त लाइन तानेर सीसी टिभि संचालन गर्न सकिन्छ । नगरपालिकाले एरोनेटले दिंदै आएको सेवा प्रभावकारी नभएको भन्दै उससँगको सम्झौता तोडी दुई सरकारी संस्था नगरपालिका र टेलिकमबीच जीटुजी सम्झौता गरेको थियो । सोही सम्झौताको आधारमा अहिले टेलिकमले नगरपालिका भित्र काम गरिरहेको छ । सम्झौतामा सार्वजनिक स्थानमा फ्रि वाईफाई, नगरपालिका मातहत रहेका सम्पूर्ण सरकारी कार्यालयमा नेट जडान र नगर क्षेत्र भित्र रहेका सीसी क्यामेरा संचालनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री टेलिकमले गर्ने भनि सम्झौतामा उल्लेख छ । नगरपालिकाले टेलिकमसँगको सहकार्यलाई तीब्र बनाई जतिसक्दो नगर क्षेत्रभित्र सीसी क्यामेरा संचालनमा ल्याउन जरुरी छ ।



