काठमाडौं । कास्की कारागारबाट फरार एक कैदीलाई प्रहरीले लागुऔषध ब्राउन सुगर सहित पुनः पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवा र लागुऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले पोखरा ३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्ने ३३ वर्षीय नरेश गुरुङ रहेका छन् । पोखरातर्फ आउँदै गरेको ग.२ ख १४११ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा गुरुङ शंकास्पद अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङ यसअघि नै लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका व्यक्ति हुन् । उनलाई अदालतले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सोही बमोजिम कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर भागेका थिए ।

प्रहरी टोलीले चेकजाँचका क्रममा गुरुङको साथबाट ब्राउन सुगर ६ ग्राम र एक थान मोबाइल फोन बरामद गरेको छ । फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउ परेका गुरुङलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय