काठमाडौं, भदौ २८ – भ्रष्टाचार र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धविरुद्ध भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन उग्र बन्दै जाँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृतकको आधिकारिक विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार मृतकहरूमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। आन्दोलनका क्रममा भएका झडप, आगजनी र नियन्त्रण प्रयासकै बीच यो मानवीय क्षति भएको बताइएको छ। मुख्य सचिव अर्यालका अनुसार हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भदौ २३ गते सुरु भएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच देशका विभिन्न स्थानमा झडप भएको थियो। त्यही क्रममा आगजनीका घटनाहरू पनि बढेका थिए। आगो लागेका ठाउँमा उद्धारकार्य जारी रहेकाले अझै शव फेला पर्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। आज बिहान मात्र काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट क्षेत्रमा ६ जनाको शव फेला परेको छ। मृतकहरूको सनाखत गर्न खोजी भइरहेको छ। स्रोतका अनुसार केही ठाउँहरूमा जलेका अवस्थामा शव फेला परिरहेको हुँदा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय