काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर चर्किएको जेनरेशन जेड (जेनजी) आन्दोलनका क्रममा प्रदर्शनमा घाइते भएका थप एक जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ। यससँगै ट्रमा सेन्टरमा मृत्यु हुने प्रदर्शनकारीको संख्या ७ पुगेको छ।
सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक रूप लिँदै गएपछि काठमाडौं उपत्यकासहित देशभरका अस्पतालहरूमा घाइतेहरूको चाप बढ्दो छ। विभिन्न अस्पतालहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसारस्



ट्रमा सेन्टर: ७ जना
सिभिल अस्पताल: ३ जना
केएमसी अस्पताल: १ जना
त्रिवि शिक्षण अस्पताल :१ जना
एभरेस्ट अस्पताल: ३ जना
हालसम्म ज्यान गुमाउने प्रदर्शनकारीको कुल संख्या १५ पुगेको छ। मृतकहरू अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेका छन्।
घाइतेहरूको यकिन विवरण आउन बाँकी
स्वास्थ्य मन्त्रालय र अस्पताल स्रोतहरूका अनुसार गम्भीर घाइतेहरू दर्जनौँ छन् भने केहीको अवस्था नाजुक छ। घाइतेहरूको यकिन संख्या सार्वजनिक भइनसकेको भए पनि ट्रमा, शिक्षण, सिभिल, तथा एभरेस्ट अस्पतालहरूमा बेड भरिएका छन्। चिकित्सकहरूका अनुसार, धेरै घाइतेहरूलाई अश्रुग्यास, रबरको गोली र कडा लाठीचार्जबाट गम्भीर चोट लागेको छ।
मानव अधिकारकर्मी र चिकित्सकको चिन्ता
मानव अधिकार आयोग, चिकित्सक संघलगायतका निकायहरूले शान्तिपूर्ण प्रदर्शनमाथि अनुपातहीन बल प्रयोग भएको भन्दै चासो व्यक्त गरेका छन्। चिकित्सकहरूले सुरक्षा बलले प्रयोग गरेको बलका कारण धेरै युवाहरूको अवस्थाको जटिलता बढेको बताएका छन्।
सरकारमाथि दबाब चुलिंदै
प्रदर्शन चर्कंदै जाँदा मृत्यु संख्या दिनदिनै बढिरहेको छ। यसले सरकारमाथि निर्णय फिर्ता गर्न र आन्दोलनरत युवाहरूका माग सम्बोधन गर्न अत्यधिक राजनीतिक र सामाजिक दबाब सिर्जना गरेको छ।
युवा पुस्ताको आक्रोश र बलिदानले राजनीतिक दलहरूलाई समेत आन्तरिक छलफल र बैठकमा धकेलेको छ।



