काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिले जेनजीले थालेको आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा ऐतिहासिक मोड ल्याएको बताएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा चन्द्रागिरिले आन्दोलनलाई उच्च सम्मान र पूर्ण समर्थनको प्रतिवद्धता समेत जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिका सभापति जनार्दन केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विगतमा अल्पशिक्षित वा सीमित अनुभव भएका व्यक्तिहरुले पनि देशको नेतृत्व गरेको स्मरण गराउँदै अब बन्ने अन्तरिम सरकारका मन्त्रीमा सक्षम, शिक्षित युवा तथा विज्ञलाई राख्नुपर्नेमा जोड दिईएको छ । साझा एजेण्डा प्रष्ट भएका दलहरु र अन्य समूहसँग संवाद र सह–अस्तित्व अपरिहार्य रहेको जनाउँदै रास्वपा चन्द्रागिरिले उन्माद वा अहंकारले अघि बढ्न खोज्दा देशलाई नै जोखिम हुने पनि जनाएको छ ।



विज्ञप्तीमा वर्तमान अन्तरिम सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाहरुलाई तेस्रो जनआन्दोलनका शहीद घोषणा गर्न माग पनि गरिएको छ । जसले युवा पुस्ताको बलिदानको उचित सम्मान र नयाँ नेपालको प्रारम्भलाई ऐतिहासिक रुप दिने विश्वास व्यक्त गरेको छ । साथै रास्वपा चन्द्रागिरिले नेपालको संविधानको मर्मलाई सुनिश्चित गर्नुपर्ने ठहर गर्दै, दलभन्दा माथि देश र जनता राख्ने प्रतिवद्धतालाई सबै राजनीतिक शक्ति, सरोकारवाला र सचेत नागरिकलाई राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र स्थिर भविष्यको यात्रामा सहयात्री र सहयोगी बन्न पनि आह्वान गरेको छ ।





