काठमाडौं । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो ।
जेनजी पुस्ताका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच देशमा देखिएको राजनीतिक समस्या समाधान गरी संवाद र सहमतिका माध्यमबाट निकासको यात्रा प्रारम्भ गर्न निरन्तर छलफल भइरहेको छ ।



प्रधानसेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग संवाद गर्नुभएको थियो । सिग्देलल आज देशले निकास पाउने गरी जेनजी अभियन्तासँग छलफल गर्नुहुने बताइएको छ । प्रधान सेनापति सिग्देलसँगको छलफलपछि जेनजी अभियन्ता सामाजिक सञ्जालमा खुला बहसमा सहभागी भए । १० हजारभन्दा बढी जेनजी पुस्ता र अभियन्ताले देशको परिस्थिति, तत्कालै गर्नुपर्ने काम र भावी कार्यदिशाका सन्दर्भमा पनि छलफल गरेका छन् । प्रधानमन्त्रीका लागि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई छलफलमा सहभागी जेनजी पुस्ताको अत्यधिक मत प्राप्त भएको छ ।
छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, जेनजी पुस्तालाई समावेश गर्ने गरी सङ्घीय संसद्को निर्वाचन, २०४६ पछि सार्वजनिक पदमा बसेका सबै पदाधिकारीका सम्पत्ति छानबिन, भ्रष्टाचारका मुद्दाको न्यायिक छानबिन गरी कारबाही, सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्नेसहितका विषयमा विमर्श भएको छ ।
यसैगरी, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पनि छलफलका लागि सैनिक मुख्यालय पुगेर प्रधान सेनापति सिग्देलसँग संवाद गर्नुभयो । उहाँले देशको निकासका लागि नयाँ पुस्ताको र देश बनाउने सोच बोकेको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।



