जेनजी समूहले निरन्तर बढाएको दबाबले सरकार अलमलमा परेको छ भने थप अस्थिरताको जोखिम बढेको छ । केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न जेनजीले सरकारलाई दबाब दिइरहेका छन् । अर्कोतर्फ प्रधानन्यायाधीश र अख्तियार प्रमुखको राजीनामा मागेका छन् । खासगरी ओली र लेखकलाई पक्राउ गर्ने मागले सरकार अप्ठेरोमा परेको छ । त्योबाहेक जेनजीका नाममा सक्रिय तर विभाजित समूहले फरकफरक माग अघि बढाउँदा सरकारलाई काम गर्न असहज भएको छ ।अन्तरिम सरकार गठन गर्न भूमिका खेलेका सुदन गुरुङसहितका जेनजी युवाहरुले विभिन्न माग राखेर बढाएको दबाबले सरकार नै अलमल र अप्ठेरोमा परेको छ । जेनजीका माग पूरा नगर्दा सरकार चलाउनै कठिन हुने र पूरा गर्दा थप आन्दोलन र प्रतिवाद हुन सक्ने जोखिम सरकारमाथि बढेको छ । जसका कारण गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रधानमन्त्री सुशीला कार्कीसमेतले असहज महसुस गर्न थालेका छन् ।



ओली पक्राउको दबाबले तरङ्ग
तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेनजीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लिएर गएपछि प्रहरी समस्यामा परेको छ । जाहेरी दर्ता गरे पक्राउ गर्नुपर्छ र पक्राउ परे, अरु व्यक्तिहरुविरुद्ध पनि जाहेरी पर्न सक्छ । ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरुले गृहमन्त्री अर्याललाई भेटे। उनीहरुले ओलीविरुद्ध जाहेरी दर्ता गरे बालेन वा अरु कुनै पात्रविरुद्ध पनि जाहेरी पर्ने र दर्ता गर्नुपर्ने बाध्यता हुन सक्ने ब्रिफिङ गरे । त्यसो भएमा सडकमा प्रदर्शनहरु बढ्ने र त्यसले सुरक्षा जोखिम बढाउने उनीहरुले सुनाए ।
फेरि प्रदर्शन गर्ने जेनजीको धम्की
जेनजीले ओली र लेखकलगायतलाई पक्राउ नगरे फेरि आन्दोलन गर्ने धम्की दिइरहेका छन् । आफैले बनाएको अन्तरिम सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनीले सरकारलाई अप्ठेरो मात्र परेको छैन, सरकार छोड्दा देश फेरि शून्यतामा पुग्ने र सरकारमै बसिरहँदा शान्ति सुरक्षाका लागि एक्सनमा जानुपर्ने द्विविधा देखिन्छ । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनमाथि भएको दमनबारे अनुसन्धान गर्न जाँचबुझ आयोग नै बनाइसकेको अवस्थामा सरकारको नीति र काम बाझिने अवस्था आउँछ । जसका कारण सरकारले समर्थन गुमाउने जोखिम बढ्छ ।
प्रधानन्यायाधीश र अख्तियार प्रमुखको राजीनामा माग
जेनजी अलाइन्सको नाममा प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको राजीनामा माग भएको छ । उनीहरुले यी संवैधानिक पदहरुमा स्वतन्त्र र निश्पक्ष व्यक्तिलाई खुला प्रतिस्पर्धा गराएर नियुक्त गर्नुपर्ने माग गरेका छन् । तर यो माग पूरा हुन कठिन छ । संविधानअनुसार यी पदमा संवैधानिक परिषदको सिफारिस र सुनुवाई समितिको अनुमोदन आवश्यक हुन्छ । अहिले यी संयन्त्र शून्यताको अवस्थामा छन् । खुला प्रतिस्पर्धा गराउने अवधारणा संविधानबाट बाझिन्छ ।
सुरक्षा जोखिम बढ्दो
जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा प्रहरीका हतियार र पोशाक लुटिएका छन् । अब तत्कालै हुने कुनै पनि प्रदर्शनमा यसरी लुटिएका हतियार र पोशाकको दुरुपयोग भएमा ठूलो मानवीय क्षति निम्तिन सक्छ । त्यसबाहेक अझै साढे ५ हजारभन्दा बढी कैदी फरार छन् । कैदीबन्दी फरार हुनु र उनीहरु आन्दोलनमा दुरुपयोग हुनुले थप सुरक्षा चुनौती बढ्नेछ । जेनजी वा अरु कुनै पनि समूहले गर्ने प्रदर्शनमा प्रतिवाद हुन सक्ने जोखिमसमेत प्रहरीले देखेको छ ।
प्रतिरोधको तयारी
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले वर्तमान सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न सचेत गराइसकेको छ । ओलीलाई पक्राउ गर्न बढिरहेको दबाब र पक्राउ गर्नेबारे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले दिएको चासोमा युवा संघले सचेत गराएको हो । उसले यदि ओलीमाथि प्रतिशोधपूर्ण व्यवहार गरे सैह्य नहुने बताइसकेको छ । यदि ओली वा लेखक वा दलका अरु कुनै नेता अहिलेकै अवस्थामा पक्राउ परेमा सडकमा प्रतिवाद हुन सक्ने जोखिम उत्तिकै छ ।
निर्वाचनमा निषेधको प्रयास
जेनजी समूहले फागुन २१ गते हुने निर्वाचनमा पुराना दलहरुलाई प्रतिबन्ध लगाउन माग गर्दै अर्को अभियान चलाइरहेका छन् । निर्वाचन भए पुरानै दलहरुले जितेर आउन सक्ने भन्दै केहीले पुरानाले जिते अमान्य हुने जिकिर गरेका छन् भने केही जेनजीले दलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । निर्वाचन गर्ने तर निर्वाचनमा दललाई प्रतिबन्ध लगाउने कुरा सरकारले गर्न सक्दैन । त्यसो भएमा सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन गुमाउँछ । त्यसो नभएमा जेनजीको दबाब खेपिरहनुपर्ने अवस्था छ । यी घटनाक्रमले अहिले सरकार अत्यधिक दबाब र अलमलमा परेको देखिन्छ ।



